आजको पत्रपत्रिका : हेटौँडालाई स्थायी राजधानी बनाउन उद्योग वाणिज्य सङ्घको माग

6.32K
shares

 हेटौँडालाई स्थायी राजधानी बनाउन उद्योग वाणिज्य सङ्घको माग

हेटौँडा । उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ। हेटौँडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ।

हेटौँडा औद्योगिक, व्यापारिक, प्रशासनिक र राजनीतिकका साथै भौगोलिक वातावरणले राजधानीको लागि उपयुक्त रहेको छलफलमा सहभागीहरूले जोड दिएका छन्। हेटौँडा प्रदेश नं ३ को मुख्य नाकासमेत रहेको छ। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई स्थायी राजधानी बनाउनुपर्ने बताएका छन्।

क्रसर उद्योग सङ्कटमा

मकवानपुर जिल्लामा सञ्चालित क्रसर उद्योगहरू सङ्कटमा परेका छन्। प्रदेश र सङ्घीय सरकारले क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि त्यहाँ सञ्चालित उद्योगहरू बन्द भएका छन्। उद्योग बन्दको कारण ढुङ्गा, गिट्टी र बालुवाको कारोबारमा समस्या आएको छ।

जिल्ला समन्वय समिति मकवानपुरले क्रसर उद्योग बन्दका कारणले विकास निर्माण, भवन, आवास, पुल, कल्भर्टलगायतका अन्य भौतिक पूर्वाधार निर्माण गर्न समस्या भएको जनाएका छ।

कञ्चनपुरमा सेन्सरसहितका सडक बत्ती जडान शुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सेन्सरयुक्त सडक बत्ती जडान शुरु गरिएको छ। बजार क्षेत्रका मुख्य चोकमा अँध्यारो हुँदा स्वचालित रूपमा बल्ने र उज्यालो हुँदा आफैँ निभ्ने बत्ती जडान शुरु गरिएको हो। एलइडी चिममा सेन्सर जडान गरिएको छ। वडा कार्यालयको दुई लाख ५० हजार रकम खर्चेर बजार क्षेत्रमा १०० बत्ती जडान गरिने वडाध्यक्ष लालबहादुर ऐरले बताए।

परीक्षणका रूपमा आधा दर्जन ठाउँमा सेन्सरसहितका बत्ती जडान गरेका छौँ उनले भन्नुभयो, “प्रभावकारिता परीक्षणपछि अन्य क्षेत्रमा बत्ती जडान हुनेछन्। वडाका ग्रामीण क्षेत्रका चोकमा समेत यस बत्तीलाई जडान गरिने योजना रहेको उहाँको भनाइ छ।

सेन्सरसहितका बत्ती जडानका लागि वडा कार्यालयले नेपाल विद्युत् प्राधिकरण कार्यालयसँग सम्झौता गरेको छ। १५ हजार धरौटी रकम राखेर मासिक रूपमा ४ हजार सडक बत्तीको महशुलवापत तिर्ने सम्झौता गरिएको छ।

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

काठमाडौँ । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताउनुभयो । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो ।

डिपोले काठमाडौँ उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । प्रत्येक पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको उनले जानकारी दिए । सार्वजनिक बिदाका दिन भए पनि आकस्मिक रुपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित आठ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताए। निगमले दशैँको सार्वजनिक बिदाका दिनमा समेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुल्ला नै राखेको थियो ।


unigloble collage
baneshwor multiple campus ad -2083