आजको पत्रपत्रिका : आयल निगमलाई चार महिनामा पौने चार अर्ब घाटा
वि.सं.२०७५ मंसिर ५ बुधवार ०७:३९
shares

आयल निगमलाई चार महिनामा पौने चार अर्ब घाटा
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र डलर बलियो हुँदा नेपाल आयल निगमले साढे चार महिनाको अवधिमा पौने चार अर्ब रुपैयाँ घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिरसम्म करिब तीन अर्ब ८२ करोड रुपैयाँ घाटा भएको निगमले जनाएको छ । निगम स्वचालित मूल्य प्रणालीमा गए पनि चाडबाडको मौकामा मूल्य समायोजन नहुँदा निरन्तर धेरै घाटा बेहोर्नु परेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
भट्टराईका अनुसार निगम निरन्तर घाटामा गएपछि इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न कठिन भएको छ । ‘गत वर्षको करिब तीन अर्ब नाफा सकिसकेको छ,’ भट्टराईले भने, ‘यो महिना भुक्तानी गर्न कठिन भएपछि दुई दिन ढिला भुक्तानी दिएका छौं ।’ सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाए मूल्य घटेर निगमलाई पनि व्यवभार पर्दैन ।
घाटाको रकम निगमले मूल्य स्थिरीकरण कोषबाट समायोजन गर्न सक्ने व्यवस्था छ । निगमको मूल्य स्थिरीकरण कोषमा साढे तीन अर्ब रुपैयाँ छ । मूल्य स्थिरीकरण कोषबाट समायोजन गर्न निगम सञ्चालक समितिमा प्रस्ताव गरेको भट्टराईले बताए । ‘आइओसीलाई भुक्तानी गर्न कठिन भएपछि मूल्य स्थिरीकरण कोषबाट बेहोर्न प्रस्ताव गरेका छौं,’ उनले भने, ‘यही अवस्था रहे पेट्रोलियम पदार्थको आपूर्तिमा जटिलता आउन सक्छ ।
वैदेशिक रोजगारमा जानेको लाइन वढ्दै
काठमाडौँ । सरकारले ३ पुस ०७३ मै अनलाइनबाट श्रम स्वीकृति लिने घोषणा गरेको थियो । त्यति मात्र होइन, श्रम मन्त्रालयले गत १५ असोज देखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीसँगै श्रम स्वीकृति लगायत सबै काम अनलाइनबाट गर्न सकिने व्यवस्था सार्वजनिक गर्यो ।
सरकारको यो घोषणा अनुसार श्रम स्वीकृतिको फाराम भर्न मात्र होइन, श्रम स्वीकृतिका चरणको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन, आफ्नो श्रम स्वीकृति भए–नभएको विवरण मोबाइल, एसएमएस, वेबसाइट र एप्सबाटै जानकारी लिन सकिने भनिएको थियो ।
तर सरकारको घोषणा कसरी कार्यान्वयन भएको छ – ताहाचलस्थित श्रम कार्यालयमा लाइन लागेका युवाको यही भिडबाट प्रस्ट हुन्छ । श्रम स्वीकृतिका कागज बुझाउन युवाहरू बिहान ३ बजे देखि लाइन लाग्नु पर्ने बाध्यता छ । त्यसमा पनि दिनमा करिब चार सयको काम हुन्छ, चार सय जति नै विना उपलब्धि फर्कनु पर्ने अवस्था छ ।
१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए
हेटौंडा । १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो ।
प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।
‘चेपाङलाई काठमाडौंस्थित प्रसुतिगृहमा लगिएको छ’, उनले भने, ‘सरकारले ती बालिकाको उपचारमा लाग्ने सबै खर्च समेत व्यहोर्ने भएको छ । हेटौंडा अस्पतालले ३३ हप्ताको गर्भवती चेपाङको पाठेघर तल खसेकाले चिकित्सकको निगरानीमा प्रसुति गराउनु पर्ने भएकाले अस्पतालमै राख्नुपर्ने सुझाव दिएको थियो ।












