आजको पत्रपत्रिका : ‘वलात्कारी’ बचाउन नेताको फोन !

वि.सं.२०७५ मंसिर १० सोमवार ०७:२८
shares

‘वलात्कारी’ बचाउन नेताको फोन !
काठमाडौँ । बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् ।
केहि दिन अघिमात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एक पार्टीका नेताले ‘उ हाम्रो पार्टीको मानिस, रिक्सा चालक संगठनको व्यक्ति हो’ भन्दै उनलाई दबाब आएको थियो ।
मलेसियाले भन्यो –कामदार पुरानै संयन्त्रबाट
काठमाडौं । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको छ ।
श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापूर्वक अगाडि बढ्ने बताए ।
धारिलो हतियार प्रहार गरी काठमाडौँमा युवकको हत्या गर्ने पक्राउ
काठमाडौंँ । काठमाडौँ महानगरपालिका– ३२, गैरीगाउँमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ, तारकेश्वर नगरपालिका–७ का मनिष बानियाँ र महेश परियारलाई पक्राउ गरेको हो। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको बताए। लागुऔषध राख्ने विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।
बानियाँ र परियारले मोरङ, उर्लाबारी घर भई हाल काठमाडौँ, सुकुम्बासी टोल बस्दै आएका विक्की लिम्बूलाई शनिबार धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। उनीहरुले काठमाडौँ शान्तिनगरका अनिल श्रेष्ठलाईसमेत धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्। श्रेष्ठको विर अस्पतालमा उपचार भइरहेको छ।