आजको पत्रपत्रिका : त्यसै सेलायो जोशीको महाअभियोग
वि.सं.२०७५ मंसिर १२ बुधवार ०७:२१
shares

त्यसै सेलायो जोशीको महाअभियोग
काठमाडौं । न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको छ । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिए ।
प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी सर्वोच्च नफर्किने सत्तारुढ नेकपाको अपेक्षा थियो । फर्किए महाअभियोग लगाएर हटाउने तयारी पनि थियो । त्यसका लागि सबै सांसदको हस्ताक्षर पनि संकलन गरिसकेको थियो । तर, वरिष्ठतम् न्यायाधीशको रुपमा ओमप्रकाश मिश्रसँथै भित्रिएपनि महाअभियोग लागेन । नेकपा यो मुद्दामा सेलायो ।
‘हामीले न्यायाधीश ओमप्रकाश मिरुलाई प्रधानन्यायाधीशमा नियुक्त गरेपछि जोशीले राजीनामा नदिने महाअभियोग लगाउने भनेर हस्ताक्षर गरेका थियौं,’ नेकपाका एक सांसदले भने, ‘तर पार्टी अधयक्ष केपी ओली र प्रचण्ड पार्टी एकताकै विषयमा केन्द्रीत भएपछि सो विषय त्यसै सेलायो ।’ त्यतिबेला महाअभियोग लगाउन पार्टीकै निर्देशन अनुसार सुवास नेम्वाङ र देव गुरुङले अग्रसरता लिएका थिए ।
राजधानीको टुङ्गो लाग्न अझै समय लाग्ने : प्रदेश नम्बर ३
मकवानपुर । लामो समयदेखि अलमलमा रहेको तीन नम्बर प्रदेश राजधानीको टुङ्गो लाग्न अझै केही समय लाग्ने भएको छ । झण्डै डेढ महिनापछि सोमबार र मंगलबार बसेको बैठकमा पनि राजधानीबारे बिषय प्रवेश नै नगराई अर्को सूचना नभए सम्मका लागि बैठक स्थगित भएको छ ।
लामो दवाव पछि प्रदेश सभामा प्रतिवेदन पेश भएपनि झण्डै तीन महिनापछि असोज २२ गते मात्र प्रदेश सभा बैठकमा पेश भएको थियो । प्रदेश सभाबाट गठित विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।
मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलहरुसँग परामर्श गरि सहमतीमै स्थायी राजधानी तोक्न अडान लिएपछि प्रदेश सभा बैठक समय दशैं–तिहार लगत्तै बस्न सकेन । मुख्यमन्त्री पौडेल संघीयताको मर्म अनुसारै गृहनगर हेटौंडामै स्थायी राजधानी तोकेर विकासमा केन्द्रीत हुनु पर्नेमा अडान लिदै आएका छन् । तर काठमाडौं आसपासका प्रदेश सांसदहरु राजधानीलाई प्रतिष्ठा र आफ्नो सहजताका लागि उपत्यका नजिकै राख्नुपर्ने बताउने गरेका छन् ।
मुख्यमन्त्री पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल आईतबार कतार भ्रमणमा गएपछि राजधानीको छलफलले गति लिन सकेको छैन । ४ दिने भ्रमणका लागि आईतबार कतार गएका मुख्यमन्त्री पौडेल, मन्त्री नेपाल बिहीबार फर्किए पछि राजधानीबारे छलफलले तिव्रता पाउने नेकपा श्रोतले जनाएको छ ।
जबरा प्रधानन्यायाधीशका ‘एक्ला योग्य’
काठमाडौं । सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबरा एक्ला योग्य व्यक्ति देखिएका छन् ।प्रधानन्यायाधीश बन्न सर्वोच्चमा तीन वर्ष न्यायाधीशका रूपमा काम गरेको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार न्यायपरिषद्ले न्यायाधीशद्वय दीपकराज जोशी र जबराको नाम सिफारिस गरेको छ ।
न्यायाधीश जोशीको नाम रोस्टर भए पनि यसअघि प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहरिएको कैफियत विवरणका कारण उनको अगाडिको यात्रामा कठिनता उत्पन्न भएको हो भने जबरा एक्ला योग्य व्यक्ति बन्न पुगेका हुन् । सर्वोच्चका न्यायाधीशमध्ये जोशी वरिष्ठतामा एक नम्बरका न्यायाधीश हुन् भने जबरा दोस्रो वरीयतामा छन् ।
न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले संविधानले तोकेको व्यवस्थानुसार योग्यता पुगेका न्यायाधीशद्वय जोशी र जबराको विवरणसहितको अभिलेख संवैधानिक परिषद्को सचिवालयमा पठाइएको बताए ।














