आजको राष्ट्रिय दैनिक पत्रिकामाः १९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो
वि.सं.२०७५ पुस ५ बिहीवार ०८:२६
shares

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरु आज पनि नेकपा स्थायी र कांग्रेस महासमिति बैठककै वरिपरि घुमेका छन् । यद्यपि, केही दैनिक पत्रिकाहरुले भने यसबाट सिफ्ट भएर खोजमूलक सामग्रीलाई प्रमुख समाचारका रुपमा छापेका छन् ।
नयाँ पत्रिका दैनिकले मन्त्रीहरुले दोहोरो इन्धन सुविधा चप्काउँदै आएको विषय उठाएको छ । नयाँ पत्रिकाका अनुसार, २४ मध्ये २३ मन्त्रीले दोहोरो सुविधा लिँदै आएका छन् । यति मात्रै होइन, स्वकीय सचिवलाई पनि गैरकानूनी रुपमा गाडी र इन्धन दिलाएका छन् । तर, अर्थमन्त्री युवराज खतिवडाले भने त्यस्तो दोहोरो सुविधा नलिएको समाचारमा लेखिएको छ ।
नयाँ पत्रिका लेख्छः प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दोहोर्याइरहेका छन् । तर उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् । मन्त्रिपरिषदका सदस्यहरुको पारिश्रमिक सेवा(सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरुले मन्त्रालय वा मातहतबाट तेल हालिरहेका छन् ।
समाचारअनुसार अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ । सरकारी कर्मचारीबाटै सम्पत्ति असुरक्षित भएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । आपराधिक गिरोहसँग मिलेर धनीलाई थाहै नदिई जग्गा तथा कम्पनी बिक्री गरिदिन थालेका घटना बढ्न थालेका छन् । समाचार अनुसार यस्ता दुई समूहलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही थालेको छ ।
एसपी बढुवाका लागि नियमावली संशोधन गर्न लागिएको, कांग्रेसमा विवाद अझै नमिलेको लगायत समाचारलाई पनि नयाँ पत्रिकाले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ ।
सरकारले ल्याएको कर्मचारी समायोजनविरुद्ध आन्दोलित कर्मचारीहरुको तस्वीर मुख पृष्ठमा छापेको कान्तिपुरले कांग्रेस महासमिति बैठकको सहमति भाँडिएको लेखेको छ । पदाधिकारी छनोटबारे नेताहरुबीच जुटेको सहमति एकै रात नटिक्दा चालू कांग्रेस महासमिति बैठक अन्योलमा धकेलिएको समाचारको सार छ ।
बौद्ध स्तुपामाथि अतिक्रमण, हजारौँ प्वाल पार्दा स्तुपा कुरुप
विश्व सम्पदा सुचीमा सुचीकृत बौद्ध स्तुपामा मेलम्ची घ्याङ गुठीले बिजुली राख्न भन्दै अतिक्रमण गरेको छ । गुठीले मापदण्ड विपरित बिनास्वीकृति बौद्ध स्तुपामा जथाभावि प्वाल खोजेपछि सरोकारवालाहरुले सो कार्यको विरोध गरेका छन् ।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पुरातत्व विभागसँग स्वीकृति नै नलिई गुठीले आफुखुसी बत्ति हाल्नलाई प्वाल पारेको बताए । बत्ति राख्न भन्दै स्तुपामा हजारौँ प्वाला पार्दा स्तुपा कुरुप भएको छ, उनले भने ।
गुठीले स्तुपामा समेत प्वाल पारेको लामाले बताए । लामाका अनुसार सो गैरकानुनी कामविरुद्ध पुरातात्व विभाग र संस्कृति मन्त्रालयमा आईतबारै उजुरी हालिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
उपनिर्वाचनसम्बन्धी ऐन नबन्दा स्थानीय तहमा १ सय ७५ दलित सदस्य खाली छन् । निर्वाचन आयोगले उपनिर्वाचनसम्बन्धी कानुन नभएकाले निर्वाचन गराउन नसकिएको जनाएको छ । सांसदहरुले भने आयोगका कारण निर्बाचन ढिलो भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार एक छलफल राखेको थियो । उक्त छलफलमा प्रदेश तथा स्थानीय तहमा रिक्त रहेका निर्वाचन हुने पदहरुमा पदपूर्ति गर्ने सम्बन्धमा आवश्यक कानुन तथा निर्बाचन आयोग र सरकारको तयारीका सम्बन्धमा गृह मन्त्रालय र निर्बाचन आयोग सहभागी थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
१९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो
आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन ९ आइओसी० सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै मूल्य घटाएको छ ।


























