‘कठैबरा काङ्ग्रेस, हेर्दा हेर्दै कहाँ पुग्यो, मलाई कांग्रेस देख्दा टिठ लाग्छ’ : प्रधानमन्त्री ओली
वि.सं.२०७५ चैत १४ बिहीवार १६:१६
shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताएका छन्। नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने स्पष्ट गरे।
नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै उनले भने, अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन्। कम्युनिष्टको बर्को ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानून बमोजिम नियन्त्रण गर्छ। यसमा पार्टी पङ्क्ति स्पष्ट भए हुन्छ। प्रधामन्त्री केपी शर्मा ओलीले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन्।
नेकपाको प्रदेश ३ को पहिलो बैठकमा उनले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए। उनले कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको पनि टिप्पणी गरे। ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्यो’ उनले भने।
प्रधानमन्त्री ओलीले मुलुकबाट विखण्डनवाद समाप्त गर्दा पनि कांग्रेसले छाती पिटेको टिप्पणी गरे । ‘विखण्डनवाद समाप्त भयो। यता वितण्डा मच्चाउन खोज्नेहरुलाई पनि नियन्त्रणमा लिनु पर्नेछ। यसमा कथित लोकतन्त्रवादी भन्नेहरुले छाती पिट्छन’, उनले थपे, ‘ यी पक्षहरु देखेर मलाई कांग्रेस देख्दा टिठ लाग्छ।
उनले भने, नेतृत्वले कुनै लाखापाखा गर्दैन। त्यसैले अब कसैले गुटबन्दी गर्नु पर्दैन। गुटबन्दी र फुटको शिक्षाबाटै हामी एकताबद्ध भएर सुविधाजनक बहुमतको कम्युनिष्ट सरकारको चरणमा पुगेका छौँ। अब सामाजिक रूपान्तरणको काममा सबै लाग्नुपर्छ। पार्टी एकतापछि हाललाई सामाजिक न्यायसहितको समाजवादको लक्ष्यमा केन्द्रीत जनताको जनवाद विचारधारा लिइएको उल्लेख गर्दै उनले जनतामा भनेर मात्र नभई गरेर देखाउने गरी नेता कार्यकर्ताहरु प्रस्तुत हुन आग्रह गरे।
प्रधानमन्त्री ओलीले विप्लव समूह पार्टी नभइ कुनै गिरोह भएको बताए। ‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ?’ उनले भने, ‘त्यो एउटा गिरोह हो। कम्युनिस्टको बर्को ओढेर जे पनि गर्न पाइन्छ भन्ने नसोच्न विप्लव समूहलाई प्रधानमन्त्री ओलीले चेतावनी दिए। कम्युनिस्ट भएकै कारण कतिपयले विप्लव समूहप्रति नरम हुनुपर्ने भनेको भन्दै उनले विप्लवले कम्युनिस्टको बर्कोमात्र ओढेको दावी गरे।



















