नेकपा सचिवालयका ९ जना नेताको धारणा : कुन नेताले के भने ?
वि.सं.२०७७ साउन ४ आइतवार ०८:२१
shares

File photo
काठमाडौं : पार्टी नै फुट्ला झैं गरी बढेको नेकपा अध्यक्षद्वयको विवाद अन्ततः मंसिरमा महाधिवेशन गर्ने विषयमा सहमतिमा पुगेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको चार महिनामा महाधिवेशन गर्न शनिबार राखेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरे। यससँगै पछिल्लो मनमुटाव साम्य हुने वातावरण बनेको छ।
दाहालसँग झन्डै दुई घण्टा बालुवाटारमा छलफल गरेपछि दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै आफ्नो मन्तव्य राख्दै एकता महाधिवेशनको प्रस्ताव गरेका हुन्। स्थायी समिति बैठक एजेन्डामा प्रवेश नगरी भड्किएको र त्यसमा सबैका कमीकमजोरी रहेको भन्दै प्रधानमन्त्री ओलीले अब ढिलो नगरी पार्टी महाधिवेशन गर्ने प्रस्ताव सचिवालयमा गरेका हुन्।
कुन नेताले के भने ?
मंसिरमै महाधिवेशन गरौं
(प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली)
पार्टी एकता गरेर जाँदा पनि बेला–बेला पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परे। एकता प्रक्रियामा पनि समस्या पैदा भए। त्यो समस्या पैदा हुनुमा मेरा आफना सीमाहरु पनि रहे होलान्। कमजोरी भए होलान्। अब त्यसरी हुदैन। कमजोरीमा आत्मआलोचना गरौं। पार्टी र सरकार दुवैलाई प्रभावकारी वनाएर जाऔं।
स्थायी समिति एजेण्डामा प्रवेश नगरी भडकिएको थियो। अब भड्काउन दिनु हुदैन। पार्टीभित्र देखा परेको समस्यालाई अब छिटोभन्दा छिटो समाधानका लागि महाधिवशेन गरेर जानु नै उपयुक्त हुन्छ। म प्रस्ताव गर्छु पार्टीको महाधिवशेन गरेर जाऔं। गत केन्द्रीय समिति बैठकले चैतमा महाधिवशेन गर्ने कुरा हामीले गरेकै थियौं, अब किन ढिलो गरिरहने रु छिटो गरेर जाऔं। मंसिरमै महाधिवशेन गरौं। त्यहींबाट सबै समस्याको समाधान खोजौं।
अब आलोपालो होइन, महाधिवेशन
( अध्यक्ष पुष्पकमल दाहाल)
पार्टीभित्र समस्या देखिए। यसले कता–कता पार्टी एकताको सुदृढ रक्षा पनि नहुने हो की भन्ने खालका समस्या देखिए। हामीले एकता प्रक्रियालाई पनि जोगाउनु पर्ने कार्यभार छ। पार्टीलाई ट्य्राकमा पनि लैजानु छ। आजको छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अब महाधिवशेन छिटो गरेर जाऔं। ठिक छ, अव महाधिवशेनवाटै जाऔं।’
यसवीचमा मैले मंसिर ४ को सहमति कार्यान्वयनमा नआएपछि पार्टी एकताका वेलाको जेठ २ को सहमतिको कुरा गरेको थिएँ। आलोपालो प्रधानमन्त्रीकै विषय उठाएको थिएँ। जुन सम्झौताले समस्या ल्यायो, त्यही शुरुको सहमति कार्यान्वयन गरौं भन्ने मेरो कुरा थियो। अव धेर भयो, हामी अल्झेर, विवाद गरेर वस्नु ठिक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवशेन गरौं भन्नुभयो। छिटो महाधिवशेन गरेरै जाऔं।
झलनाथ खनाल
पार्टीको स्थायी समिति बैठक बसिरहेको छ। छलफल गरौं। छलफललाई निरन्तरतामा लगेर एउटा निष्कर्ष हामीले दिनै पर्छ। महाधिवेशन गर्नु राम्रो कुरा हो। तर, महाधिवेशन त्यत्तिकै हुने विषय होइन। त्यसका लागि केही निश्चित कार्यभार पूरा गर्नुपर्छ, वैचारिक छलफल आवश्यक छ। वैचारिक राजनीतिक विषयमा छलफल गर्ने, हामी अब कता जाँदैछौं भन्ने कार्यभार पूरा नगरी महाधिवेशन कसरी गर्नुहुन्छ रु सम्भव कसरी हुन्छ मंसिरमै महाधिवेशन गरेर जान ?
दुई अध्यक्षको पदको लेनदेनलाई मात्र महाधिवेशनको अर्थ दिन र त्यसैका लागि महाधिवेशनमा लैजान खोजेको हो भने पार्टीका अन्य निकाय पनि छन्। केन्द्रीय समितिको बैठक बसेर त्यहींबाट पनि कतिपय लेनदेन मिलाउन सकिन्छ। तर दुई, तीन महिनाभित्र कसरी महाधिवेशन हुन्छ रु ठिक छ अब तपार्इंहरू (दुई अध्यक्ष) नै त्यसरी आउनु भएको हो भने कार्यतालिकासहित ठोस प्रस्ताव लिखित रूपमा लिएर आउनुहोस्। मौखिक रूपमा भनेर मात्र हुँदैन।
माधवकुमार नेपाल
पार्टीभित्र हाम्रो अहिलेको मूल समस्या के हो रु छलफल गरौं। दुई जना नेताले मात्र छलफल गरेर चोचोमोचो मिलाउँदैमा मात्र पार्टीभित्रका सबै समस्याको समाधान हुँदैन। यो व्यक्तिको समस्या होइन, पार्टीभित्र। मूलतः प्रवृत्तिगत समस्या हो। पार्टीभित्र व्यक्तिवाद मुख्य समस्या हो। पार्टी विधि र पद्धतिमा चल्नुपर्छ। मेरो कुरा पहिलेदेखि नै यही हो। मेरो अर्को कुरा केही छैन। मैले मेरो व्यक्तिगत कुरा कहिले उठाएको छैन। मलाई कुनै पदको लोभलालच पनि छैन। विधिबाट पार्टी चलाऔं मात्र मैले भनेको हो। त्यसमा सबैलाई मान्य हुने गरी लिखित रूपमा तपाईंहरूले प्रस्ताव ल्याउनुहोस्।
यो तपाईंहरूले ल्याएको समयावधिमा कसरी महाधिवेशन सम्भव हुन्छ रु महाधिवेशन वैचारिक राजनीतिक विषय पनि हो। वैचारिक राजनीतिक विषयमा हामी छलफलमै प्रवेश गरेका छैनौं। अब छलफल खुल्ला गरौं। तर दुई नेता मिल्दैमा सबै कुरा मिल्ने, सबै पार्टीभित्रको समस्या समाधान भयो भन्ने कुनै नेतालाई परेको छ भने त्यस्तो हँुदैन। तपाईंहरूले कसरी मिलाउने सोच्नु भएको छ, ठोस रूपमा लिखित लिएर आउनुहोस्। त्यसमा बसेर छलफल वा बहस गरौंला।
वामदेव गौतम
दुई अध्यक्ष नै यसरी आइसकेपछि आत्मालोचनासहित आएको भए हुन्थ्यो। त्यसरी आउन सक्नु भएन। आत्मालोचना पनि वास्तविक रूपमा आउनुपर्दथ्यो। विगतमा पनि आत्मालोचना गर्ने तर त्यसअनुसार कार्यान्वयन नगर्ने समस्या रहे। अहिले वास्तविक रूपमै त्यसरी आएको भए राम्रो हुने थियो। प्रधानमन्त्रीको अहिले देखिएको शैली र स्वभाव ठिक छैन। कार्यशैलीमा सुधार नगरी हुँदै हुँदैन। यो मेरो प्रष्ट कुरा हो। महाधिवेशनमा वैचारिक राजनीतिक विषयमा हामीले कतिको छलफल गरेका छौं रु खोइ पार्टीको वैचारिक सवालमा छलफल। अध्यक्षद्वयलाई मात्र सम्बोधन गर्न मात्र महाधिवेशनको कुरा गरेको हो भने केन्द्रीय समितिबाटै पनि त्यो सम्बोधन गरेर जान सकिन्थ्यो। त्यसमा महाधिवेशन भनेर गइरहनु पर्दैनथ्यो। यसको अर्थ महाधिवेशन नगर्ने भन्ने होइन। गर्ने हो। तर मंसिरमै कति सम्भव रु लिखित प्रस्ताव ल्याउनुहोस्। मौखिक प्रस्तावले मात्र हुँदैन।
नारायणकाजी श्रेष्ठ
महाधिवेशन एकताको मर्मअनुसार मूलतः समझदारीका आधारमा गर्ने भन्ने सहमति हो। तर वैचारिक राजनीतिक क्षेत्रमा केही पनि छलफल बहस भएकै छैनन्। महाधिवेशनमा जाँदा समाजवादको हाम्रो मोडलहरू के हुने रु पार्टी निर्माणको हाम्रो अवधारणा के हुने रु केही पनि छैन। महाधिवेशन भन्ने कुरा नाटक गर्ने जस्तो मात्र होइन। यसले निश्चित अवधारणाहरू तय गरेर जान सक्नुपर्छ।
व्यक्तिगत समस्या हो भने त्यो पार्टीको केन्द्रीय निकायबाट पनि टुंगो लगाएर जान सकिन्थ्यो। तर यो व्यक्तिको भन्दा पनि प्रवृत्तिको समस्या भएकोले अहिले छलफल आवश्यक छ। महाधिवेशन कसरी गर्ने रु के गर्ने भन्नेमा ठोस प्रस्ताव के छ रु लिखित रूपमा ल्याउनुपर्छ। लिखित रूपमा प्रस्ताव आएपछि मात्र अरू धेरै भन्न सकिन्छ। मौखिकका आधारमा मात्र हँुदैन।
ईश्वर पोखरेल
प्रधानमन्त्रीले मंसिरमा महाधिवेशन गर्ने, छिटो महाधिवेशन गर्ने गरी पार्टी विवाद समाधानको जुन प्रस्ताव ल्याउनु भयो। यो एकदम सही छ। बल्ल पार्टीभित्र सही र ठिक प्रस्ताव आयो। हामी ठिक ठाउँमा आइपुग्यौं। विधि, पद्धतिगत रूपमा अहिले बल्ल हामी सही ठाउँमा आइपुगेका छौं। स्थायी समितिको बैठकमै हामीले सही प्रस्ताव लान सकेका भए, त्यहाँ पार्टीभित्र अहिले देखा परेका जस्तो समस्या आउँदैनथे। बिना प्रस्ताव हामी स्थायी समितिमा जाँदा समस्या भएको हो। बल्ल प्रस्ताव सही आएको छ। अब यसले स्थायी समितिबाट पनि एउटा निधो गर्ने सम्भावना बोकेर आएको छ। पार्टी एकतालाई पनि मजबुत बनाउने उद्देश्यसहित आएको छ। यसलाई अब विधिवत् रूपमा समस्या समाधान गर्ने गरी लैजानु आवश्यक छ। दुवै अध्यक्षको सहमतिमै प्रस्ताव आएको कारण पनि अब समस्या समाधानको बाटोमा बल्ल पार्टी जान खोजेको छ। यो अहिलेको सन्दर्भमा वस्तुवादी र सही प्रस्ताव आएको छ। अब समस्याको समाधान महाधिवेशनबाटै हुन्छ। यसरी जानु नै उपयुक्त हुन्छ।
रामबहादुर थापा
पार्टी एकता भए पनि पार्टीमा समस्या सुरुआती चरणदेखि नै थिए। गुट थिए पार्टीमा। पार्टीभित्र गुट नै गुट बनेका छन्। पार्टी गुटकै कारण एक प्रकारले फुटे जस्तो बनेको छ। तर अब एकताको कुरा आएको छ। यो सही छ। पार्टीमा दुई अध्यक्षबीचको एकता नगरी समस्या समाधान सम्भव नै थिएन। दुई अध्यक्ष मिल्ने कुरा आएपछि अब पार्टीमा देखा परेका समस्या धेरैजसो मिलेर जाने, गुट भत्किने सम्भावना देखिएको छ। महाधिवेशनबाटै जाने प्रस्ताव सही छ। अब हामीले महाधिवेशनमा ध्यान केन्द्रित गर्नु आवश्यक छ। यसले मात्र अब समस्याको समाधान दिन्छ। मैले सुरुदेखि एकताको पक्षमा आवाज उठाउँदै आएको थिएँ। आज अध्यक्षद्वयले त्यो महत्वलाई बुझ्नु भएको छ। यो सकारात्मक छ।
विष्णु पौडेल
पार्टीभित्र देखा परेका समस्याले कतै पार्टीलाई विभाजनतिर लैजान्छ कि भन्ने चिन्ता आम नेता, कार्यकर्तामा थियो। हामीले जुन उद्देश्यका साथ एकता गरेका थियौं, त्यो कतै बीचमै भड्किन्छ कि भन्ने चिन्ता थिए। तर अब त्यस्तो रहने छैन। दुई अध्यक्षले नै छिटोभन्दा छिटो महाधिवेशन गरेर जाऔं भन्ने खालको जुन प्रस्ताव ल्याउनुभयो, यसले अब समस्या समाधानको बाटो पक्डिएको छ। हामीले यो निर्णय गरेर जाँदा सही हुन्छ। हिजो स्थायी समितिलाई मात्र छोड्दा समस्या देखिएको थियो। अब एउटा विधिमा, एउटा प्रस्तावमा जाँदा विवाद समाधानको दिशामा गएको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षले अगाडि सार्नु भएको महाधिवेशन गरेर जाने प्रस्ताव सही छ। अन्नपूर्ण पोस्ट दैनिकबाट !





















