प्रधानमन्त्री बन्ने दौडमा छैन: प्रचण्ड
वि.सं.२०८२ माघ १७ शनिवार १५:०२
shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको स्पष्ट पारेका छन्।
सोलु–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पदको आकांक्षा नरहेको बताएका हुन्। पत्रकारहरूले ‘फेरि प्रधानमन्त्री बन्ने तयारी हो ?’ भन्ने प्रश्न गर्दा प्रचण्डले छोटो जवाफ दिँदै भने, “त्यसतर्फ मेरो ध्यान छैन।”
उनले पछिल्लो समय सार्वजनिक रूपमा चर्चामा आएका सम्भावित प्रधानमन्त्री उम्मेदवारहरूबाट कोही पनि अन्ततः प्रधानमन्त्री नबन्ने दाबी गर्दै आएका छन्।
हाल प्रमुख दलहरूले आफ्ना–आफ्ना प्रधानमन्त्रीका उम्मेदवार सार्वजनिक गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको छ भने नेपाली कांग्रेसले सभापति गगन थापालाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ।
यसै अवसरमा प्रचण्डले पार्टी एकताबारे पनि धारणा राखे। सबै कम्युनिस्ट तथा विचार मिल्ने शक्तिहरू एक ठाउँमा नआएसम्म एकताको प्रक्रिया जारी रहने उनले बताए। “विचार मिल्ने सबै दलसँग एकता गर्छौँ। देशलाई एकताबद्ध बनाएरै छोड्छु,” उनले भने।
















