श्रम कार्यालयमा बिचौलियाको बिगबिगी, सात जना पक्राउ
वि.सं.२०७५ पुस २४ मंगलवार १७:४४
shares

काठमाडौं। वैदेशिक रोजगार विभाग अन्तर्गत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्विकृति प्रदान गर्दै आएको श्रम कार्यालय ताहाचलबाट ७ जना बिचौलिया पक्राउ परेका छन्। श्रम कार्यालय ताहाचलमा सेवाग्राहीलाई दुख दिँदै आएका सात जना बिचौलिया पक्राउ परेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
मंगलबार बिहान ९ बजे सेवाग्राहीलाई ‘काम छिटो गरिदिन्छु यति पैसा लाग्छ’ भन्दै हैरानी दिइरहेको अवस्थामा उनीहरुलाई ताहाचल कार्यालयबाट नै पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा काभ्रे जिल्ला फलाने साँखु घर भई हाल कालिमाटी काठमाडौं बस्दै आएका २५ वर्षीय भरत तामाङ, काभ्रे जिल्ला मंलगटार घर भइ न्युरोड बस्ने ३७ वर्षीय दुपु शाह, भक्तपुर जिल्ला बोडे घर भएका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङ घर भइ भक्तपुर बालकोट बस्ने २४ वर्षीय पुजन राई, काभ्रे कोशीपारि घर भई सानो भर्याङ बस्ने ३५ वर्षीय गणेश तामाङ, बाफल घर भएका २० वर्षीय विकल शाही, बाफल कै २६ वर्षीय राजेश तामाङ रहेका छन्।
श्रम कार्यालय ताहाचलमा सेवाग्राही घण्टौँसम्म लाइनमा बस्नुपर्ने समस्या भएपछि ‘तपाइँको काम हामी छिटो गरिदिन्छौँ लाइनमा बस्नु पर्दैन’ भन्दै उनीहरुसँग पैसा माग्ने लगाएत दुःख दिँदै आएका थिए।































