ओस्कार अवार्डमा चलचित्र ‘ग्रीन बुक’ सर्वोत्कृष्ट घोषित
वि.सं.२०७५ फागुन १३ सोमवार १३:५२
shares

काठमाडौं। यस वर्षको ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ। अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित यस चलचित्रले बाजी मारेको हो।
ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्र सहित तीन वटा ओस्कार जित्यो। यस चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते। यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रह्यो।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले जितेका छन्। उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका थिए। अवार्ड पाएपछि उनले आफ्नी आमालाई धन्यवाद दिएका छन् भने दिबंगत बाबुलाई सम्झेका छन्। सर्वोत्कृष्ट अभिनेताको विधामा क्रिस्चियन बेल, ब्राडले कुष्पर, विल्लेम डाफोई, भिग्गो मोर्टेसन पनि मनोनयन सुचीमा थिए।
![]()
सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन्। उनी पनि पहिलोपटक यो अवार्डका लागि मनोनयनमा परेकी थिइन्। उनले चार पटक ब्रिटिस एकेडेमी अफ फिल्म अवार्ड जितिसकेकी छन्। यो विधामा यसपाली ‘द वाइफ’ बाट ग्लेन क्लोजलाई प्रमुख दावेदार ठानिएको थियो।

यसै गरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते। चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन्। यस अघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए। कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन्।

यसैगरी सर्वोत्कृष्ट सह-अभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिेगिना किङलाई दिइएको छ।

























