वैदेशिक रोजगारीका नाममा मानव तस्करी, ७ महिनामा ९ करोड ठगी
वि.सं.२०७५ फागुन १४ मंगलवार १२:११
shares

काठमाडौं। वैदेशिक रोजगारीका नाममा ठगीका घटना कुनै नौला होइनन्, तर नयाँ नयाँ तरिकाबाट बिचौलिया, कन्सलटेन्सी र म्यानपावरले श्रमिकलाई ठग्ने प्रकृया भने झनझन् बढ्दै गइरहेको छ। वैदेशिक रोजगारीका नाममा श्रमिक ठगिएका उजुरी वैदेशिक रोजगार विभागले हेर्ने गरेको छ। तर वैदेशिक रोजगारकै नाममा बिचौलियाबाट ठगिएका तर ठगिएको प्रमाण नभएका पीडितहरुको गुनासो विभागले नहेर्ने भएकाले पीडित अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी लिएर जाने गरेका छन्।
अपराध अनुसन्धान महाशाखामा मात्रै वैदेशिक रोजगारीका नाममा ठगिएका उजुरीहरु लिएर दैनिक जसो १० जना भन्दा बढी पीडित पुग्ने गरेका छन्। देशका विभिन्न स्थानबाट काठमाडौं आएका तर काम गर्न परदेश जाँदा ठगिन्छ भन्ने जानकारी नभएका युवा धेरै संख्यामा ठगिने गरेका छन्। बिचौलीयाको मीठो बोलीमा सजिलै विश्वास गर्दा धेरै युवाले ऋण गरेर ल्याएको पैसा गुमाएर पनि विदेश जान पाएका छैनन् भने कतिपय युवा विदेश पुगेर अलपत्र परेका छन्।
अबैधानिक बाटो हुँदै तेस्रो विकशित मुलुक पुर्याउने, काम र कमाई राम्रो हुने प्रलोभनमा धेरै ठूलो रकम ठगी भइरहेको छ। युरोप, अमेरिका, अष्ट्रेलियालगायत विकशित मुलुकमा रोजगारीको प्रलोभन देखाएर प्रतिव्यक्ति ५० लाखसम्म दलालले ठगी गर्दै आएका छन्।
७ महिनामा झण्डै ९ करोड ठगी
वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभन देखाएर बिचौलिया तथा कन्सलटेन्सीबाट ठगिएर महाशाखामा उजुरीका लागि आएका पीडितको चालु आर्थिक वर्षको ७ महिनामा ८ करोड, ६७ लाख, ९७ हजार रुपैयाँ ठगी भएको बिगो दावी गरिएको छ। ७ महिनामा १५७ जना पीडितहरुले उजुरी दिएका छन्। जसमा २७ वटा उजुरीमा मुद्दा चलाइएको महाशाखाले जनाएको छ। मुद्दा चलाइएका २७ जनाबाट वैदेशिक रोजगारका नाममा बिचौलिया तथा कन्सलटेन्सीले १ करोड ६० लाखभन्दा बढी रकम ठगी गरेका छन्।
पीडितले २ करोडभन्दा बढी रकम पाए
७ महिनाको अबधिमा ३३ वटा उजुरीहरु मिलापत्र भइसकेको अपराध अनुसन्धान महाशाखा टेकूले जनाएको छ। मिलापत्र भएका उजुरीहरु यसैवर्षका उजुरीहरु मात्रै नभएर धेरै समय अगाडि देखिका उजुरीहरु मिलापत्र गरिएको महाशाखाले जानकारी दिएको हो।
ठगिएका ३३ जना पीडितलाई मिलापत्रमार्फत महाशाखाले २ करोड, ९ लाख, ७५ हजार रुपैयाँ बिगो भराएको छ। ठगी गर्ने व्यक्ति र पीडितहरुबीच कुराकानी गराई मिलापत्र गरी विगो भराएको महाशाखाका एसपी सोमेन्द्र सिंहले बताएका छन्।
भारतहुँदै तेस्रो मुलुक लैजाने वहानामा मानव तस्करी
विभिन्न मुलुकमा राम्रो काम र कमाईको प्रलोभन देखाएर ठगी गर्ने पीडितको संख्या बढ्दै गइरहेको महाशाखाका एसपी सोमेन्द्र सिंहले बताए। एसपी सिंहले भने, ‘युवा वैदेशिक रोजगारका लागि नेपालबाट प्रतिबन्धित मुलुकमा समेत अवैधानिक रुपमा भारत हुँदै जानेक्रममा ठगिने समस्याहरु बढिरहेका छन्।
धेरै पढाइ नभएका तर पैसा भएका युवा ५० लाखसम्म खर्च गरेर अबैधानिक बाटो हुँदै युरोप अमेरिकालगायतका मुलुकमा जान तयार हुँदा ठगीमा पर्नेको संख्या बढ्दै गइरहेको छ। यसबाट दलालहरुले मानव तस्करी गर्ने क्रम दिनानुदिन बढिरहेको छ।
सरकारले खाडीलगायतका विभिन्न मुलुकमा महिला कामदारलाई घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै महिला पनि लुकीछिपी भारतहुँदै खाडी जाने क्रममा बेचबिखनमा पर्ने समस्या बढ्दै गइरहेको एसपी सिंहको भनाइ छ।
ठगी गर्ने नयाँ तरिका भिजिट भिसा
वैदेशिक रोजगारीका नाममा एजेन्टले ठगी गर्ने नयाँ तरिका भिजिट भिसालाई बनाउन थालेको प्रहरीले जनाएको छ। दलालले श्रमिकलाई भिजिट भिसामा रोजगारीमा जाँदा रोजेर काम पाउने र कमाई पनि निकै राम्रो हुने, खाडीमा भिजिट भिसामा गएपछि त्यहीबाट युरोप लगायतका मुलुकमा पुगेर रोजगारी गर्न पाइने लगायत विभिन्न प्रलोभन देखाएर ठगी गरेका घटनाहरु एक दिनमा नै ४ देखि ५ वटासम्म आउने गरेको महाशाखाले जनाएको छ।































