जनता आवास कार्यक्रममार्फत १८० घर निर्माण हुँदै

7.83K
shares

खस्यौली । रुपन्देहीको १० प्रदेशसभा निर्वाचन क्षेत्रमा जनता आवास कार्यक्रममार्फत १८० घर निर्माण हुने भएको छ ।

सरकारले दलित, विपन्न, मुसलमान, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने लक्ष्यानुसार ती घर निर्माण हुन लागेको शहरी विकास तथा भवन कार्यालय, रुपन्देहीले जनाएको छ ।

सो कार्यालयका प्रमुख इञ्जिनीयर गोविन्द गौतमले जिल्लाको घर निर्माण हुने स्थान र लाभग्राही छनोटको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै रुपन्देहीका प्रत्येक निर्वाचन क्षेत्रमा १८ घर निर्माण हुन लागेको बताए ।

उनले लाभग्राहीमा नाम छनोट भएकाले ३० दिनभित्र घर निर्माणको काम शुरु गर्नुपर्ने उल्लेख गर्दै विभिन्न चार चरणमा लाभग्राहीले रु तीन लाख ३६ हजार रकम प्राप्त गर्ने जानकारी दिए। उक्त रकमबाट लाभग्राहीले दुई कक्षसहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ । रुपन्देहीका देवदह, तिलोत्तमा, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिकालगायत विभिन्न गाउँपालिका र नगरपालिकामा जनता आवासअन्तर्गत घर निर्माण हुने छ ।

सङ्घीय सरकारले नै जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले गत वर्षदेखि मात्रै कार्यक्रम सञ्चालन गरेकोे छ । “दलित, विपन्न, मुसलमान, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गरेर उनीहरुलाई आवासको सुविधा दिनु नै यसको उद्देश्य हो”, प्रमुख इञ्जिनीयर गौतमले बताए ।

कार्यक्रम प्रदेश नं ५ का १२ जिल्लामा नै सञ्चालनमा रहेको बताइएको छ । रुपन्देहीमा विसं २०६६ देखि सो कार्यक्रम सञ्चालनमा छ । कार्यक्रममार्फत गत वर्ष रुपन्देहीमा ४४९ तथा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र नवलपरासीमा एक हजार १३४ घर निर्माण भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083