अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दिपले लिए दुई विकेट
वि.सं.२०७६ पुस २५ शुक्रवार ११:०३
shares

काठमाडौं । नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा शुक्रबार २ विकेट लिएका छन् । मेलबर्न स्टार्सका लागि खेल्दै सन्दिपले आफ्नो स्पेलमा ३९ रन खर्चिदै २ विकेट लिएका हुन् । सन्दिपले १४ ओभरको तेस्रो बलमा आफैं क्याच लिदै शन मार्शलाई ६३ रनमा पेबेलिएन फर्काए ।
१७ ओभरको पहिलो बलमा लामिछानेले वेयु वेबस्टरको विकेट झारे । बिग बासमा मेलबर्न रेनेगेड्सले सन्दिप सम्मिलित स्टार्सलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको हो ।
रेनेगेड्सका शन मार्शले सर्वाधिक ६३ रनको योगदान दिए। सन्दीप लामिछानेले १४ औं ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट गर्नुअघि मार्शले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । मार्कस हरिस ३२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रनमा रन आउट भए ।
हिलो विकेटका लागि मार्श र हरिसले १०.३ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । वेबस्टर २५, डानियल क्रिस्टियन १२ र टम कपुर १५ रनमा आउट भए । मेलबर्न स्टार्सका लागि नाथन कुल्टर नाइलले २ र हरिस रउफले १ विकेट लिए ।






























