दुई जना प्रहरीमा कोरोना पुष्टि भएपछि कालीमाटी वृत्त शिल
वि.सं.२०७७ जेठ ७ बुधवार १०:५६
shares

काठमाडौं । दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि महानगरीय प्रहरी वृत्त कालीमाटी शिल गरिएको छ। मंगलबार वृत्तका दुई प्रहरीमा संक्रमण पुष्टि भएपछि वृत्तलाई शिल गरिएको वृत्तका प्रमुख डिएसपी रूगम कुँवरले जानकारी दिए। वृत्तभित्रै रहेको महिला सेल तथा ट्राफिक प्रहरी प्रभाग पनि शिल गरिएको छ।
‘यहाँबाट बाहिर जान दिइएको छैन,’उनले भने,’सबैको पिसिआर टेष्ट गर्ने कुरा भएको छ कहिले हुन्छ एकिनका साथ भन्न सकिन्न।’र्यापिड टेस्टमा पोजेटिभ पाइएपछि ती संक्रमित प्रहरीको पिसिआर टेष्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो।
यसअघि महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले दुई प्रहरीमा कोरोना प्रमाणित भएको कुराले जोखिम बढेको बताए।संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन्।
दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्यो भन्ने बारेमा थाहा हुन नसकेको उनको भनाइ छ।उनले कोरोनाको संक्रमण देखिएकाले अब के गर्ने भन्ने बारेमा छलफल हुँदै गरेको जानकारी दिएका छन्। उनले अब ती प्रहरीको कन्ट्याक्ट ट्रेसिङपछि थप कदमका बारेमा थाहा हुने बताए।
मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो।


















