काठमाडौं-दिल्ली मनमुटाव : सीमाका जनताबीच जोखिमपूर्ण तनाव

14.22K
shares

नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध चिसो हुँदै जाँदा सीमाका बासिन्दाबीच जोखिमपूर्ण तनाव बढेको छ । लकडाउन उल्लंघन गरेर सीमा वारिपारि गर्ने मात्र होइन, सीमास्तम्भ उखेलेर फाल्नेसम्मका घटना भएका छन् । राजनीतिक तथा कूटनीतिकस्तरमा समस्या समाधान गर्न ढिलाइ भए सीमाको जनजीवन थप उत्तेजित हुने स्थिति छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि शनिबार राति झापाको गौरीगन्ज गाउँपालिका–५ फत्तेपुरस्थित सीमा क्षेत्रमा भारतीय नागरिकले गरेको आक्रमणमा परी दुई प्रहरी घाइते भएका छन् ।

राति साढे ११ बजे सीमास्तम्भ नम्बर १५१ नजिक गस्तीमा रहेको सशस्त्रको टोलीले भारतबाट नेपालतर्फ आइरहेका युवाको समूहलाई रोक्न खोज्दा आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए । उनका अनुसार घरेलु हातहतियार बोकेको ४०–५० जनाको समूहले आक्रमण गरेको थियो । ‘घरेलु हतियारसहित आएका भारतीयले सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरे । सुरक्षाकर्मीलाई लछारपछार गरे,’ डिएसपी थापाले भने ।

सशस्त्रको ६ जनाको टोली थियो । भारतीयको आक्रमणपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चार राउन्ड हवाईफायर गरेको डिएसपी थापाले बताए । राति नै गौरीगन्जमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेपछि अवस्था सामान्य भएको थियो ।

गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले मदिरा सेवन गर्न नेपालतर्फ आउने युवाले सुरक्षाकर्मीमाथि आक्रमण गरेको बताए । ‘भारततिर मदिरा बन्द छ । लकडाउनअघि भारतीयहरू नेपालतिर आएर मदिरा खाने गर्थे,’ उनले भने, ‘उनीहरू मदिरा सेवन गर्नकै लागि नेपालतर्फ आएका हुन् । सशस्त्रले रोक्न खोजेपछि आक्रमण गरिएको हो ।’ यो क्षेत्रमा नेपाल र भारत दुवैतिर दशगजा क्षेत्रमा बाक्लो बस्ती छ । कतिपय नेपाली र भारतीय नागरिकले प्रयोग गर्ने खानेपानी ट्युबेल पनि एउटै रहेको अध्यक्ष श्रेष्ठले बताए ।

सशस्त्र प्रहरीमाथि भएको आक्रमणका विषयमा आइतबार दुवै देशका सुरक्षा निकायका अधिकारीबीच छलफल भएको छ । भारतीय प्रहरी र एसएसबीका अधिकारीले आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएको छलफलमा सहभागी गौरीगन्जका अध्यक्ष श्रेष्ठले बताए । लकडाउनको समयमा दुवै देशका नागरिकलाई सीमा क्षेत्रमा ओहोरदोहोर नगर्न सचेत गराउने सहमति भएको उनले बताए ।

यसअघि पनि सुरक्षाकर्मीमाथि सीमा क्षेत्रमा आक्रमण हुने गरेको छ । शनिबार चौथोपटक आक्रमण भएको हो । वैशाख अन्तिम साता झापा गाउँपालिका–४ मा सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । एक सय ५० जनाभन्दा बढीको संख्यामा आएका भारतीय नागरिकले सीमास्तम्भ नम्बर १३१÷१ नजिकै घरेलु हतियारले आक्रमण गरेका थिए । त्यतिवेला पनि सशस्त्र प्रहरीले दुई राउन्ड हवाईफायर गरेको थियो ।

वैशाख अन्तिम साता नै कचनकवल गाउँपालिका–४ खुट्टामनिमा पनि सीमामा खटिएका सुरक्षाकर्मी र भारतीय नागरिकबीच विवाद भएको थियो । त्यतिवेला भने भारतीय नागरिक भागेका थिए । जेठ पहिलो साता भने कचनकवल गाउँपालिका–१ स्थित सीमास्तम्भ नम्बर १२५÷१० नजिकै आक्रमण भएको थियो । खेती गर्न नेपालतर्फ आएका ५०–६० जनाको समूहले हुलहुज्जत गरेपछि सशस्त्र प्रहरीको टोलीले एक राउन्ड हवाईफायर गरेको थियो ।

लकडाउनका कारण नेपालतर्फ आउन नपाएपछि भारतीयहरू वेलावेला आक्रमणमा उत्रिने गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । ‘लकडाउनले उनीहरूको रोजीरोटी खोसिएको छ । विशेषगरी सीमा क्षेत्रमा व्यापार गर्ने आक्रोशित छन् । लकडाउनले समस्या परेकाहरू सुरक्षाकर्मीमाथि खनिन्छन्,’ उनले भने । नयाँ पत्रिकमा दैनिकबाट !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083