विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा, ८५ कराेड ९५ लाख बिगाे दाबी

8.84K
shares

काठमाडाैं । भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ। जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई रु ८५ करोड ९५ लाख २२ हजार बिगो बराबरको विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ।

उक्त बिगो असुलउपर गरी तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद साजयको मागदावी लिई बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशन दीर्घराज मैनालीले जानकारी दिए। जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्समार्फत विदेशमा निर्मित मोवाइल, मेमोरीकार्डलगायत माल वस्तुहरु पटकपटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध बिक्री गरेको पाइएको विभागले जनाएको छ।

कानुनअनुसार माल वस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार विन्दुमा माल वस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी र पैठारी गर्नुपर्ने व्यवस्था रहेको छ । यस्ता मालवस्तु तेश्रो मुलुकबाट ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन सकिँदैन । ठूलो मात्रामा विदेशी मुद्रा गैरकानुनी रुपमा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको विभागले जनाएको छ । विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४, दफा ८(२) र दफा ९(ग) बमोजिम कसूर गरेकाले मुद्दा चलाइएको मैनालीले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083