बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
वि.सं.२०७८ वैशाख २१ मंगलवार ११:१०
shares

जिल्ला अदालत ललितपुरले प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वडिएसपी राजकुमार खिउजुलाई सफाइ दिएको छ।
वैशाख ९ गते न्यायाधीश देवकुमार गिरीको इजलासले उनलाई सफाइ दिएको जिल्ला अदालत ललितपुरका स्रेस्तेदार विष्णुप्रसाद पाण्डेले बताए।
यसअघि उक्त अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जागिर खान प्रहरी रिपोर्ट बनाउन गएका बेला चापागाउँ प्रहरी कार्यालयमा प्रमुख रहेका खिउजुले बलात्कार गरेको भन्दै ती किशोरीले दिएको जाहेरीका आधारमा उनीविरूद्ध बलात्कारको मुद्दा लागेको थियो।
गत वर्षको माघमा जाहेरी परेको थियो भने फागुनमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रहरी कार्यालय सेवामा रहेकाबेला बलात्कार गरेको भन्दै जिल्ला सरकारी वकिलले खिउजुलाई थप ४ वर्ष कैद र ४० हजार जरिवानासमेत माग गरेको छ।
खिउजुले आफूलाई ६ महिनासम्म बेलाबेला धम्काउने, फकाउने र बलात्कार गर्ने गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी थिइन्।
यस्तो थियो घटना:
थुप्रै चाहना, पढ्ने र कमाउने रहरले भर्खरै गाउँबाट ती युवती ललितपुरको एक गाउँबाट सहर आएकी थिइन्। परिवारबाट टाढा बसेर सहर आउन त आइन् तर काम पाइहालेकी थिइनन्।
उनले कतैबाट महाराजगञ्जस्थित एक संस्थाले सेक्युरिटी गार्डको लागि मान्छे मागेको छ भन्ने कुरा सुनिन्। सोध्दै खोज्दै त्यहाँ पुग्दा ‘प्रहरी रिपोर्ट लिएर आउन’ भन्यो।
२०७५ साल माघको ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँको प्रहरी कार्यालयमा रिपोर्ट बनाउन उनी पुगेकी थिइन्।
त्यहाँ उनको भेट डिएसपी राजकुमार खिउजूसँग भयो। डिएसपी खिउजूले उनलाई चिया खाएर जान प्रस्ताव राखे। उनी एकछिन अलमलिइन्।
एक प्रहरीले चिया लिएर आएपछि खिउजू पनि सँगसँगै आइपुगे। बर्दीमै रहेका डिएसपी खिउजूले ढोकाको चुकुल लगाए। उनलाई निकै डर लाग्यो।
उनले किन ढोका लगाएको भन्न नपाउँदै खिउजू युवतीमाथि जाइलागे।
‘म चिच्याउन सुरू के गरेकी थिएँ उसले मेरो मुख थुनिदियो। म चल्मलाउन सकिनँ, ‘चिया खान भनेको थियो तर प्रहरीको बर्दीमै उसले मलाई बलात्कार गर्यो।’
बलात्कार गरेपछि खिउजूले आफूलाई धम्क्याएको युवतीले बताइन्। आफूले सबै कुराको भिडिओ खिचेको र कसैलाई भने सार्वजनिक गरिदिने धम्की दिए।
त्यसपछि खिउजू आफैंले गाडीमा राखेर उनी बस्ने घरसम्म पुर्याए।
‘मलाई बिरामी भएको भन्दै खिउजूले गाडीमा बस्न भन्यो। गाडी अर्कैले चलाएको थियो।
ऊ मेरो छेउमा बसेर पनि मलाई धम्क्याइरहेको थियो,’ उसैले म बस्ने ठाउँसम्म पुर्याइदियो। मलाइ निकै डर लाग्यो।’
खिउजू त्यतिमै रोकिएनन्। त्यस दिनदेखि उनी बिहान बेलुकै ती युवतीको कोठामा पुग्न थाले।
‘त्यसपछि पनि झण्डै छ महिनासम्म ऊ मेरै कोठामा आएर मलाई धम्क्याउँदै बलात्कार गर्यो,’ ‘यो कुरा मैले कसैलाई भन्नै सकिनँ न परिवारलाई न त साथी भाइलाई नै।’



























