झलनाथले ल्हारक्याललाई किन दिए विशेष धन्यवाद
वि.सं.२०७८ भदौ १५ मंगलवार १९:२४
shares

काठमाडौं । समाजसेवाको परिचित नाम हो ‘डा ल्हारक्याल लामा ।’ लामालाई खेन्पो छिमे छिरिङ को उपनामले समेत चिनिन्छ । यहि सेवाभाबकै कारण हालसालै पुर्वप्रधानमन्त्री झलनाथ खनालले लामालाई बिशेष धन्यवाद दिएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एस का वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट फर्केलगत्तै एरपोर्टमै पत्रकारहरुसंग कुरा गर्दै लामालाई सम्झिएका हुन् ।
खनालको विज्ञप्तिमा भनिएको छ, ‘म सँगसँगै एपोलो हस्पिटल पुगेर मेरो उपचारमा विशेष सहयोग गर्नुहुने डा ल्हारक्याललाई लामालाई पनि विशेष धन्यवाद दिन चाहान्छु ।’
आफूलाई उपचार खर्च प्रदान गर्ने प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र गठबन्धनका नेताहरूकै लहरमा राखेर खनालले ल्हारक्याललाई किन विशेष धन्यवाद दिए होलान त? भन्ने हाम्रो जिज्ञाशामा लामाले भने, ‘मैले उहाँलाई उपचार तथा व्यवस्थापनमा सहयोग गरेको हुनाले नाम लिनुभयो होला । उहाँलाई दिल्ली लैजादा दुवै पटक म थिएँ । मेरो लागि उहाँ सधैं सम्मानित र आदरणीय नेता हो । मैले सकेको सहयोग र समन्वय सबै नेताको लागि गर्छु । कमरेड प्रचण्ड र झलनाथ खनाल त मेरो अभिभावक नै हो ।’ खनाल पहिलोपटक दिल्लीमा उपचारका लागि जाँदा लामा एक महिना उतै बसेका थिए । यसपटकको उपचारमा पनि ३४ दिनसम्म लामाले दिल्लीमा झलनाथ खनालको साथ छोडेनन् । पछिल्लो राजनीतिक घटनाक्रमपछि उनी नेपाल फर्किएका हुन् ।
झलनाथ खनाललाई लामाले आदर्श नेता मान्छन् । त्यसकारण पनि झलनाथ खनालको उपचारमा लामाले मरिमेटेर लागेका हुन् । स्रोतका अनुसार खनालको उपचारको व्यवस्थापनमा सघाउन प्रचण्डले डा। लामालाई आग्रह गरेका थिए । प्रचण्डले भनेरै उनी खनालको उपचारको प्रबन्ध मिलाउन पहिले नै दिल्ली गएका थिए ।
धेरैले बिर्सिसकेका र नयाँ पुस्ताले थाहा नपाएका ल्हारक्याल लामा अहिले नेकपा माओवादी केन्द्रसँग छन् ।
झलनाथ खनालसँग भने उनको पुरानो र विशेष सम्बन्ध छ । खनाल प्रधानमन्त्री भएका बेला डा। ल्हारक्याललाई उनले अर्थ राज्यमन्त्री बनाएका थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको अन्तर्गत उनी थिए ।
तर, ल्हारक्याल राज्यमन्त्री नियुक्त भएलगत्तै उनको दोहोरो नागरिकता रहेको भनेर विवाद सिर्जना गरियो । खासगरी तत्कालीन एमालेभित्र अध्यक्ष खनालकै गुटका कतिपय नेताहरुले डा ल्हारक्याल अघि बढेको रुचाइरहेका थिएनन् । त्यसकारण नागरिकताका विवादहरु श्रृजना गरिएको थियो । एमालेकै केहि मान्छेहरुले मिडियाबाजी गरेका कारण दबाबमा परेर उनले राजीनामा दिएका थिए ।
उनी दोस्रो संविधानसभा निर्वाचन अगाडि एमाले छाडेर माओवादीमा प्रवेश गरेका थिए । माओवादीबाट उनी समानुपातिकतर्फ सांसद पनि भएका थिए । सांसद भएका बेला उनलाई विभिन्न खालका मुद्दा मामिलामा फसाउन खोजिएको थियो । नेकपा एकीकरणका बेला उनले प्रचण्डलाई एमालेसँग एकता गर्न नहातरिन सुझाव दिएका थिए ।
डा। ल्हारक्यालको तर्क थियो( ‘एमाले ब्युरोक्रेटिक संरचना भएको पार्टी हो । यसमा जति गुट भए पनि एमालेको वडा तहको कार्यकर्ताले पनि माओवादीलाई नेता मान्न चाहदैनन् । गठबन्धनबाटै अघि बढौं, केपी ओलीले धोका दिन्छन् ।’
नेकपा एकतापछि प्रायः देश र विदेश बराबर ओहोर(दोहोर गरिरहेका उनी प्रचण्डको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र विस्तारमा भने क्रियाशील थिए । प्रचण्डले उनलाई बुद्धलाई मान्ने कुनै देशको राजदूत बनाउन आग्रह गरे पनि ओलीले मानेका थिएनन् ।
सिन्धुपाल्चोक हेलम्बुका डा लामा एमाले नेता अमृत बोहरा र अष्टलक्ष्मी शाक्यका पनि निकटस्थ मानिन्छन् । उनले अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबाट तत्काल नहटाउन समेत प्रचण्डलगायतका नेताहरूलाई सुझाव दिएको लामाले बताए ।































