व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा चार जना सार्वजनिक

5.62K
shares

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो । यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । हत्यामा तीन जनाको संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौँमा मृत फेला परेका थिए । उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या गरेको आशङ्कामा प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली बिहीबार घटनास्थलमा खटिएको थियो । शाही नेतृत्वको टोलीले घटना भएको सो घट्नामा संलग्न रहेकाहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान जारीे रहेको प्रहरीले जनाएको छ । मृतक महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083