रूपन्देहीमा महिला अधिकार र कानुनी परामर्श सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
वि.सं.२०८२ साउन ९ शुक्रवार २१:२६
shares

रूपन्देही। सिद्धार्थ सञ्जाल रूपन्देहीले महिला अधिकार र कानुनी परामर्शलाई केन्द्रमा राखेर आयोजित एकदिने सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय समुदायमा महिला सशक्तीकरण र कानुनी जागरूकताको सन्देश प्रवाह गरेको छ।
कार्यक्रममा शान्ता कंडेलले स्वागत मन्तव्य राख्दै महिला अधिकारको महत्त्व र समाजमा विद्यमान चुनौतीहरूबारे प्रकाश पार्दै सहभागीहरूलाई सक्रिय सहभागिताका लागि प्रेरित गरेकी थिइन। उनले सञ्जालको प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेकी थिइन ।
कार्यक्रममा माइती नेपाल भैरहवा शाखा प्रमुख प्रशिक्षक माया छेत्रीले नेपालको संविधानमा उल्लेखित महिला अधिकार, अन्तर्राष्ट्रिय कानुन, र ती उल्लङ्घन भएमा लाग्ने सजायबारे विस्तृत जानकारी दिइएकि थिइन । संविधानले प्रत्याभूत गरेको लैङ्गिक समानता, महिला हिंसाविरुद्धका कानुनी प्रावधान, र अन्तर्राष्ट्रिय मापदण्डबारे स्पष्ट रूपमा व्याख्या गरेकी हुन् ।
त्यस्तै सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले कार्यक्रममा सम्बोधन गर्दै महिला अधिकारको संरक्षण र प्रवर्द्धनमा संस्थाको निरन्तर प्रयास रहने बताएका हुन् । उनले भने- “हाम्रो समाजमा महिलाहरूलाई सम्मान र समान अवसर प्रदान गर्नु हाम्रो कर्तव्य हो, यस्ता सचेतना कार्यक्रमहरूले हामीलाई थप जिम्मेवार बनाउँछ र हामी यस्ता पहललाई निरन्तरता दिनेछौँ।” ज्ञवालीले सञ्जालले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरी सामाजिक जागरूकता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सिद्धार्थ नगरपालिका र रूपन्देही जिल्लाका विभिन्न अग्रणी संस्थाका अध्यक्ष, पदाधिकारी, र सामाजिक अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यो कार्यक्रमले स्थानीय स्तरमा कानुनी साक्षरता र महिला सशक्तीकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका हुन् ।
सचेतना कार्यक्रमले महिला अधिकार र कानुनी परामर्शको महत्त्वलाई उजागर गर्दै स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। सिद्धार्थ सञ्जालको यो पहलले रूपन्देही जिल्लामा सामाजिक परिवर्तन र लैङ्गिक समानताको यात्रालाई थप बलियो बनाएको छ।
















