अपारदर्शी कारोबार रोक्न नगद लेनदेनको सीमा घटाइएको हो : अर्थमन्त्री खनाल

2.37K
shares

१० माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले देशमा बढ्दै गएको अपारदर्शी आर्थिक गतिविधि नियन्त्रण गर्न नगद कारोबारको सीमा घटाउने निर्णय गरिएको बताएका छन् । उनले नगद कारोबार धेरै हुने क्षेत्रमा कालो धनलाई सेतो बनाउने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न यस्तो नीति अवलम्बन गरिएको स्पष्ट पारे ।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले केही क्षेत्रहरूमा अझै पनि वित्तीय अनुशासन नमानिने र कारोबार लुकाउने प्रवृत्ति कायमै रहेको उल्लेख गरे ।

उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले तुलनात्मक रूपमा जिम्मेवार भूमिका निर्वाह गरिरहेका भए पनि अझै बढी सतर्कता अपनाउनु आवश्यक छ । “वित्तीय प्रणालीलाई थप पारदर्शी, सुरक्षित र विश्वासयोग्य बनाउनु आजको आवश्यकता हो,” उनले भने ।

अर्थमन्त्री खनालले अब देशले नगदमा आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमा आधारित प्रणालीतर्फ जानुपर्ने बताए । फिजिकल नगद र कागजी बैंकिङभन्दा डिजिटल भुक्तानी र भर्चुअल बैंकिङलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो ।

 उनले धितो राखेर मात्रै ऋण दिने पुरानो प्रणालीको सट्टा उद्यमशीलता, सीप र आम्दानी सिर्जना गर्ने क्षमताको आधारमा लगानी गर्ने व्यवस्था विकास गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच छलफल भइरहेको जानकारी दिए ।

अहिलेको वित्तीय क्षेत्र समग्रमा स्थिर नै रहे पनि समय–समयमा चुनौती देखिनु स्वाभाविक भएको उल्लेख गर्दै उनले ती समस्यालाई समयमै समाधान गर्न सरकार सचेत रहेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083