निजामती प्रशासनभित्रका समूहसँग कुनै सम्बन्ध छैन : रास्वपा

1.47K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती प्रशासनभित्र गठन भएका कुनै पनि समूह, अभियान वा युनियनजस्ता संरचनासँग आफ्नो कुनै सम्बन्ध वा समर्थन नरहेको स्पष्ट पारेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै केही व्यक्तिले पार्टी र नेतृत्वको नाम जोडेर स्वार्थसिद्धि गर्न खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। उनले त्यस्ता भ्रमपूर्ण प्रचारमा नपर्न कर्मचारी र सरोकारवालालाई आग्रह गरेका छन्।

निजामती सेवाभित्र सक्रिय कुनै पनि समूह वा अभियानसँग रास्वपाको कुनै आबद्धता, समर्थन वा संलग्नता छैन। “कसैले पार्टीको नाम प्रयोग गरी आफ्नो स्वार्थ पूरा गर्न खोजेको भए त्यस्तो भ्रममा नपर्नुहोस्,” विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने नीति लिँदै आएको पनि दोहोर्‍याएको छ। हालै सम्पन्न आम निर्वाचनमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र मेरिटोक्रेसी (योग्यता प्रणाली)का आधारमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराइएको छ।

पार्टीले कर्मचारीको मूल धर्म “जनसेवा” र पहिचान “व्यावसायिकता” हुनुपर्नेमा जोड दिँदै कुनै पनि राजनीतिक प्रभाव वा शक्ति केन्द्रको आडमा प्रशासन सञ्चालन हुनु आफ्नो नीति र आदर्शविपरीत रहेको स्पष्ट पारेको छ।

त्यसैगरी, विगतमा देखिँदै आएको दलीय आडमा काम गर्ने, त्रास सिर्जना गर्ने वा प्रशासनलाई प्रभावमा पार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै रास्वपाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई तटस्थ, निष्पक्ष र जिम्मेवार ढंगले जनताको सेवामा समर्पित हुन आह्वान गरेको छ।