आर्थिक कूटनीति र लगानी प्रवर्द्धनमा सरकार केन्द्रित : अर्थमन्त्री वाग्ले

377
shares

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै मन्त्री वाग्लेले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्दै सरकार आर्थिक सुधारतर्फ केन्द्रित रहेको उल्लेख गरे।

उनका अनुसार परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै संवैधानिक, कानुनी तथा आर्थिक संरचनालाई खुला बनाइ बाह्य स्रोतलाई मूलधारमा ल्याउने रणनीति सरकारले अघि बढाएको छ।मन्त्री वाग्लेले आगामी केही वर्षमा नेपालीको प्रतिव्यक्ति आय वृद्धि हुने दाबी गर्दै हालको जस्तो सस्तो विदेशी ऋण भविष्यमा सहज रूपमा उपलब्ध नहुने पनि बताए।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले आवश्यक स्रोत जुटाएरै छाड्ने प्रतिबद्धता जनाए। उनले वैशाख ३१ गते संसद्मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी दिए।

मन्त्री वाग्लेले १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गर्दा लाग्ने भन्सार व्यवस्थालाई थप व्यावहारिक बनाइने बताए। यद्यपि, सीमामा हुने अवैध कारोबार र तस्करी नियन्त्रणमा सरकार कठोर रहने उनको भनाइ छ। सीमा निगरानी, राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोक्न प्रविधिमैत्री सुरक्षा प्रणाली विकास गरिने उनले जानकारी दिए।

वर्षौंदेखि अलपत्र रहेका आयोजनाहरू अघि बढाइएको दाबी गर्दै मन्त्री वाग्लेले चालु आर्थिक वर्षको अन्त्यसम्म पूँजीगत खर्चमा सुधार आउने विश्वास व्यक्त गरे।