सुधन गुरुङमाथि छानबिन तीव्र

416
shares

१० जेठ, काठमाडौं। पूर्वगृहमन्त्री सुधन गुरुङमाथि गठित छानबिन समितिले अनुसन्धानलाई तीव्र बनाउँदै अब प्रत्यक्ष बयान लिने तयारी गरेको छ। समितिले प्रारम्भिक अध्ययनको अधिकांश काम पूरा गरिसकेको जनाएको छ।

सरकारले २८ वैशाखमा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

समितिले हालसम्म गुरुङसँग जोडिएका सार्वजनिक आरोप, सम्पत्ति विवरण, व्यावसायिक सम्बन्ध तथा अन्य कागजातको अध्ययन गरिसकेको स्रोतले जनाएको छ। अब उठेका प्रश्नका विषयमा गुरुङसँग प्रत्यक्ष सोधपुछ गरिने तयारी भइरहेको बताइएको छ।

समिति अध्यक्ष भण्डारीका अनुसार अनुसन्धान प्रमाण र तथ्यमा आधारित हुनेछ। दोषी वा निर्दोष भन्ने विषय अनुमानका आधारमा नभई स्पष्ट प्रमाणसहित प्रतिवेदनमा उल्लेख गरिने उनले बताएका छन्। “हामीभन्दा प्रमाण बोल्नेछ,” भन्ने उनको भनाइ उद्धृत गरिएको छ।

सुधन गुरुङ व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारीका कारण विवादमा आएका हुन्। भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेपछि गुरुङमाथि पनि प्रश्न उठ्न थालेका थिए। त्यसपछि उनले आफ्नो सम्पत्ति विवरणमा सेयर सम्बन्धी विवरण नदेखाएको, विवादास्पद कम्पनीसँग सम्बन्ध रहेको लगायत आरोप सार्वजनिक भएका थिए। बढ्दो जनचासो र आलोचनापछि गुरुङले ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

राजीनामापछि उनले निष्पक्ष छानबिनको माग गर्दै पदभन्दा नैतिकता ठूलो भएको बताएका थिए।

छानबिन जारी रहेकै बेला गुरुङ शनिबार सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर तालिमका क्रममा घाइते भएका जवानहरूको अवस्था बुझ्न पुगेपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। केहीले उनलाई पुनः गृहमन्त्री बनाउने तयारी भइरहेको अनुमान गरेका छन्।

तर गुरुङ निकट स्रोतले भने त्यो भ्रम मात्रै भएको दाबी गरेको छ। बिरामी जवानप्रति मानवीय संवेदनाका कारण उनी अस्पताल पुगेको सचिवालयको भनाइ छ।

हालसम्म नयाँ गृहमन्त्री नियुक्त नभएकाले पनि राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समेत छानबिनबाट सफाइ पाए गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा चलिरहेको बताइन्छ।

यद्यपि अन्तिम निर्णय भने प्रधानमन्त्री बालेन शाहको हातमा रहने राजनीतिक विश्लेषकहरूको बुझाइ छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083