डिआईजी विनाेद घिमिरेको प्रमुख आतिथ्यतामा कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी “प्रादेशिक गोष्ठी २०८३” सम्पन्न
वि.सं.२०८३ जेठ १३ बुधवार २०:३९
shares

बिराटनगर । प्रहरी नायब महानिरीक्षक ( डिआईजी) बिनाेद घिमिरेको प्रमुख आतिथ्यतामा कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी “प्रादेशिक गोष्ठी २०८३” सम्पन्न भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई सवारी दुर्घटना न्यूनीकरण गरी सडक प्रयोगकर्तालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन कोशी प्रदेश ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी २०८३ को आयोजना गरिएको हाे ।
सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित दुर्गा पार्टी प्यालेसमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा एक दिवसिय गोष्ठीको उद्घाटन भएको थियो ।

प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ट्राफिक व्यवस्थापनमा देखिएका चुनौती, सडक सुरक्षा र प्रविधिमैत्री समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा इन्जिनियर बिबेक सिंहले आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापन सुधार गर्न सकिने उपायबारे प्रस्तुतीकरण गर्नु भएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिज्यूले लागूऔषध नियन्त्रण अहिले प्रदेशकै ठूलो चुनौती बनेको उल्लेख गर्दै विराटनगरबाट सुरु गरिएको अभियान १४ वटै जिल्लामा विस्तार गरिने बताउनुभयो । उहाले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सबै निकायबीच समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गर्नु भएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।






























