शासकीय सुधार र राजनीतिक संस्कारमा परिवर्तन आवश्यक: राष्ट्रपति पौडेल
वि.सं.२०८३ जेठ १५ शुक्रवार १३:२४
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन, समृद्धि र जनअपेक्षा पूरा गर्न राज्यसत्ता सञ्चालनको शैली तथा राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवस २०८३ को अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले केवल राजनीतिक परिवर्तनले मात्र नागरिकको जीवनस्तर परिवर्तन हुन नसक्ने उल्लेख गरे । उनले राजनीतिक दल र नेतृत्वलाई जनउत्तरदायी, विनयशील र सिर्जनशील बन्न आग्रह गरे ।
राष्ट्रपतिले लोकतान्त्रिक उपलब्धिलाई जनजीवनसँग प्रत्यक्ष जोड्न शासकीय प्रणालीमा व्यवहारिक सुधार आवश्यक रहेको धारणा राखे । उनले नागरिकले अहिले सुशासनसहितको समृद्धि खोजिरहेको भन्दै देशका स्रोत–साधनको अधिकतम उपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रलाई बलियो बनाउनुपर्ने बताए ।
उनले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अघि बढाएको उल्लेख गर्दै त्यसले जनतामा नयाँ आशा जगाउने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई आफ्नो भाषा, संस्कृति, धर्म र पहिचानको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै यसलाई राष्ट्र निर्माणको प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिए । उनले ऐतिहासिक उपलब्धिलाई व्यवहारमा रूपान्तरण गर्दै नागरिकको जीवनमा प्रत्यक्ष अनुभूति गराउन सबै राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए ।





























