एसपी गोविन्दराज काफ्लेद्वारा स्याङ्जामा ट्राफिक प्रहरीका विभिन्न युनिटको अनुगमन, निरीक्षण तथा निर्देशन

1.52K
shares

स्याङ्जा। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा, कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेद्वारा सिद्धार्थ राजमार्गअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जा, मातहतका अस्थायी ट्राफिक प्रहरी पोस्ट तथा यात्रु सहायता कक्षको अनुगमन, निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ।

असोज २८ गते सम्पन्न उक्त कार्यक्रमअन्तर्गत फेदीखोला, बयरघारी, वालिङ, गल्याङ र राम्दीस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टहरूको अनुगमन तथा निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा प्रहरी उपरीक्षक काफ्लेले आसन्न चाडपर्वलाई लक्षित गर्दै सडक सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न, सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुहरूलाई सहज, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिनुभयो।

उहाँले चाडपर्वका समयमा सवारीसाधन तथा यात्रुको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनमा विशेष सतर्कता अपनाउन, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न तथा यात्रु सहायता कक्षमार्फत यात्रुहरूलाई आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउन जोड दिनुभयो।

साथै, कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई उच्च मनोबल, अनुशासन र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गर्न निर्देशन दिँदै नागरिकसँग मैत्रीपूर्ण, शिष्ट र सौहार्दपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो। प्रहरी सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सेवामुखी कार्यशैली अपनाउनसमेत उहाँले निर्देशन दिनुभयो।

सडक सुरक्षा सुदृढीकरण, सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुहरूलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने उद्देश्यले गरिएको उक्त अनुगमन तथा निरीक्षण कार्यक्रमले चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083