गृहमन्त्री सुधन गुरुङको प्रमुख आतिथ्यतामा ७१औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण
वि.सं.२०८३ असोज ३० शुक्रवार १६:०७
shares

काठमाडौं । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा गृहमन्त्री सुधन गुरुङको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित ‘अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा गृहमन्त्री गुरुङले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्यपालनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। साथै, उहाँले अमर प्रहरीका आश्रित परिवारका सदस्यहरूलाई कदरपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रमका अवसरमा अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक डा. प्रेमलाल श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। त्यसैगरी, प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीलाई ‘प्रहरी ब्याटन–२०८३’ प्रदान गरियो। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार तथा अमर प्रहरीका सन्ततिलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो।
यसै अवसरमा नेपाल प्रहरीको संस्थागत इतिहास, गतिविधि र उपलब्धिलाई समेटिएका ‘प्रहरी दर्पण–२०८३’ तथा ‘प्रहरी स्मारिका–२०८३’ को लोकार्पण गरिएको थियो।
समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको शुभकामना सन्देश वाचन गर्नुभएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अमर प्रहरीका परिवारका सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्नुभएको थियो।
नेपाल प्रहरीको इतिहासमा कर्तव्यपालनका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको यस कार्यक्रमले उनीहरूको त्याग, साहस र समर्पणप्रति सम्मान व्यक्त गरेको छ। साथै, अमर प्रहरीका परिवारप्रति राज्य तथा प्रहरी सङ्गठनको सम्मान, सद्भाव र जिम्मेवारीलाई पुनः उजागर गरेको छ।
























