कर्णाली प्रदेशमा विविध कार्यक्रमसहित ७१औँ प्रहरी दिवस–२०८३ सम्पन्न
वि.सं.२०८३ असोज ३० शुक्रवार १६:३४
shares

सुर्खेत । ‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा ७१औँ प्रहरी दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको आयोजनामा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लको प्रमुख आतिथ्यमा आयोजित समारोहमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उत्कृष्ट प्रहरी कर्मचारी, प्रहरी कार्यमा सहयोग पुर्याउने संघसंस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सुरुवातमा प्रमुख अतिथि मन्त्री मल्लले प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो। सो अवसरमा अमर प्रहरीको सम्मानमा शोक सलामी अर्पण गरिएको थियो।
उत्कृष्ट जिल्ला प्रहरी कार्यालय र प्रहरी कर्मचारी सम्मानित
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ७१औँ प्रहरी दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो। साथै, प्रमुख अतिथि तथा अन्य अतिथिहरूले प्रहरी दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
समारोहमा वार्षिक कार्यसम्पादन सम्झौता करारअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्न सफल जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई सम्मान गरिएको थियो। त्यसैगरी, विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रहरीको कार्यसम्पादनमा सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। प्रहरी संगठनप्रति योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मानले प्रहरी र नागरिकबीचको सहकार्य तथा सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
पूर्वप्रहरी तथा अमर प्रहरी परिवारलाई सम्मान
कार्यक्रममा ज्येष्ठ पूर्वप्रहरी जवान देवबहादुर थापा मगर, पूर्वप्रहरी नायव निरीक्षक दिलबहादुर कार्की तथा कर्तव्यपालनका क्रममा अमरत्व प्राप्त प्रहरी सहायक निरीक्षक दीपक पोखरेलका पिता टेकबहादुर पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
प्रहरी सेवामा योगदान पुर्याएका पूर्वप्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारका सदस्यलाई गरिएको सम्मानले उनीहरूको योगदान, त्याग र समर्पणप्रति संगठनको सम्मान तथा कृतज्ञता व्यक्त गरेको छ।
विशिष्ट व्यक्तित्व तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, प्रदेश सरकारका सचिवहरू, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका पदाधिकारी, प्रदेश तथा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, पूर्वप्रहरी कर्मचारी, अमर प्रहरी परिवारका सदस्य तथा बहालवाला प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै प्रहरी दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो।
























