७१औँ प्रहरी दिवस–२०८३ बागमती प्रदेशमा भव्य रूपमा सम्पन्न, अमर प्रहरीका परिवार सम्मानित
वि.सं.२०८३ असोज ३० शुक्रवार १६:४१
shares

हेटौँडा । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा तथा मातहतका प्रहरी कार्यालयहरूद्वारा आयोजित विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा आयोजित श्रद्धाञ्जली तथा सम्मान कार्यक्रममा कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाले प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरेका थिए।
कार्यक्रमका अवसरमा मुख्यमन्त्री थापा मगरले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवार तथा पूर्वप्रहरी संगठनका ज्येष्ठ सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। साथै, प्रहरी संगठनलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउने व्यक्ति तथा संघसंस्थालाई कदरपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मध्य पृतना हेडक्वार्टर सुपारेटार हेटौँडाका उपरथी विष्णुकुमार खड्का, बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव महेश भट्टराई, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलगायत विभिन्न सरकारी निकायका प्रमुख, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी तथा प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
यसै अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले अमर प्रहरीका परिवारजनसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए। उनले बागमती प्रदेशअन्तर्गतका प्रहरी कार्यालयहरूमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कारसमेत वितरण गरेका थिए।
प्रहरी दिवसले कर्तव्यपालनाका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीको योगदानको स्मरण गर्नुका साथै प्रहरी संगठन र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
























