नेकपाका अध्यक्ष प्रचण्डद्वारा बकर इदको उपलक्ष्यमा शुभकामना व्यक्त

14.91K
shares

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् पर्व बकर इद् (ईद उल अजहा) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

उनले सन्देशमा भनेका छन्, ‘नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो । विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै सांस्कृतिक विविधता हो ।’

सन्देशमा अध्यक्ष प्रचण्डले नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको प्रष्ट भएको भन्दै समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको बताएका छन् ।

पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको जिकिर गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेका स्मरण समेत गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण नै हो । यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद् पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083