श्रीमतीलाई भावुक पत्र लेख्दै विदा भए पूर्वसांसद लामा (पत्रसहित)
वि.सं.२०७७ मंसिर २५ बिहीवार ०९:५२
shares

श्रीमतीलाई पत्र लेखेको १ हप्तापछि पूर्वसांसद तथा राजदूत कमानसिंह लामाकाे निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका लामाको उपचारका क्रममा बिहान दुई बजे निधन भएको हो । सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वसांसद तथा राजदूत लामाले पनि फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो फेसबुकमा पोष्ट गरेका छन् ।
काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए । दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए । उनी नेकपाका केन्द्रीय सदस्य हुन् ।
लामाले सात दिनअघि फेसबुकमा भावुक स्टाटस लेखेका छन् । आफ्नो पारिवारिक सन्दर्भलाई लिएर लामाले स्टाटस लेखेका छन् ।
उनले लेखेको स्टाटस जस्ताको तस्तै
आमा नाम नै कति मोहक शब्द ‘आमा’ । मैले संसारमा सबभन्दा बढी मया गर्ने ‘आमा’
प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेकोछ । तिमी यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नुपर्छ भन्नछन । छ्या कति कुरुप सिलावरको देक्ची कुचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु ।।
प्रिय, तिमी त उस्को परिवार रे, आफ्नो श्रीमतीलाई आफैले हात लिनुपर्छ रे । वा रे वा नेताज्यू हातमा हैन मैले शीरमा राखेको थिएँ । ढोंगीहरुले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार । जे होस तिम्रा जालझेल खेती सप्रेको नै छ । साधा जीवन उच्च विचारका होडिङबोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौ, त्यो कत्तिको सहज लाग्छ कुन्नी, मलाई त हांडी घोप्टे जस्तो लाग्छ ।
ठमेलमा ५० हजार युएस डलरको विटा भेट्टाएछ । सोह्रखुट्टे पार्टीको भित्तामा गाइको गोवरले डलर टांसेर झिली मिली बनाएछ । हांडीमा खिचडी बसाएर दुर्इ बुढाबुढी गीत गाएर नाचिबसेको खोज्दै जाने प्रहरी र टुरिष्टले भेटेछ । यही केशले हांडीघोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो ।
हाम्रा महान पा . का माहान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन । थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरु ।।
प्रिय, मेरी प्रिय, हाम्रो प्रेम बर्मुडा ट्य्राङ्गलमा फस्यो प्रिय ।
१. मेरो स्वाभिमानको ट्य्राङ्गल
२. चल अचल भौतिक सम्पतीप्रतिको तिम्रो आसक्ति
३. हाम्रो बीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरु ।यो हो हाम्रो बीचको अहिलेको बर्मूडाको ट्य्राङ्गल ।
याद गर प्रिय, मैले तिमीलाई सबै कुरो सम्पतिसम्म सुम्पें तर मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिइएको छैन । धेरैले नबुझेका र तिमीले पनि नवुझेको कुरो यहीं छ ।
बरमुडा ट्य्राङ्गल त्यो त्रासदीपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन ।
तर, यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसंगै भएको हो ।
जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो ।हामी बसेको भूभाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्बमा टांसिएर बसेको थियो ।
त्यसबखत ठूला ठूला भौगोलिक उथल पुथल भइरहन्थे । एक्कासी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसंग छुट्टियो । ३ मिटर उत्तर सर्यो । पृथ्वी बीचमा उसिनेको अण्डा बीचमा फ़ुटाएको जस्तो फुट्यो ।पृथ्थ्वी दुइ भागमा बांडियो ।
उत्तरी गोलार्ध पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड ।
यही घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्रयाङ्गल बन्यो । त्यो आजपर्यन्त अभेद्य छ ।त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङ्गलमा फसेका छौं ।
प्रिय,
तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिंदा मेरा केही सपनाहरु अधुरा नै रहने भए ।राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडी पुर्याइ हाले ।
के कुरा गर्ने ?
तिमी म दुइ मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने, विस्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने । माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने । गोन्जालोको देश हेर्ने । माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएं । त्यो तिमीले भांडी दियौ ।
मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेबाट रस्वास्वदन हामी दुइ साथै गर्ने सपना अधुरै रहने भयो ।
ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने, उलान बटो र ऐतिहासिक गोवी मरुभूमिमा उँट चढ्ने सपना अधुरै रहने भयो ।
मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान, वुसानम्यानले गरेका उपलब्धी र आदिबारे अलि सूक्ष्म अध्ययन गरी हाम्रो ठुंसाकाबारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने, दोङ, सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरुले एक ठूलो नदीको धार परिबर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्रागकालिन पुर्खाको पौरख र सीप विज्ञान प्रविधिसंगै पढ्ने ईच्छा अधुरै रहने भयो ।
हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने बसन्त ऋतुमा अध्ययन भ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्यो ।
प्रिय, म कोरोनाले लिएर जानको लागि सबै योग्यता पुगेको मान्छे । अरुले भने मृत्यु शैयाबाट भन्थे होला तर म भन्दिन । कोबिटसँग पौठेजोरी खेल्दैछु । सायद म बाँच्छु पनि होला, मेरा वरपरबाट धेरै गए पनि । तर म आत्तिन्न ।
यो अन्तिम घडीमा पनि मेरो धन मेरो लागि काम लाग्दैन भने त्यो धनको के काम । आफ्नो पाउनु पर्ने त यो हालतमा दिंदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ?
यो जीवनको जीवन मरणको लडाईको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरी खान मनग्य गरिदिएको छु । बाँकी जीवन मोज गर । मैले पूरा गर्न नसकेको अधुरा काम अरुसंगै पुरा गर । आठै आस्वर्य हेर्ने घुम्ने भोक मैले नै जगाइसकेकोछु तिमीलाई । सक्षम पनि छौ । लौ बधाई प्रिय ।
२८–३० बर्ष तिमी साथै यो ६–७ महिना बाहेक ज्यादै सुखद नै रह्यो । यो ६–७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विश्वासघात पाएँ ।
मेरो सेयरको करीब दुइ वर्षको सांवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो । उस्ले पैसा नदिए सिधै मसंग मिल्न आइज, हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने ।प्रिय, यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलार्इ रहन्न भने सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय ।
कुनै माध्यमले काम नगरेपछि बडो सरमका साथ यो मिडिया अपनाएँ, माफ गर प्रिय । यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु । यो मेरो बिन्ती ।









