लामाको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
वि.सं.२०७७ मंसिर २५ बिहीवार १३:०२
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाकाे निधनप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएकाे छ ।
अध्यक्ष प्रचण्डले लामाकाे निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताउनुभएको छ ।
आज दिनुभएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहनुभएको स्मरण गर्नुभएको छ ।
अध्यक्ष दाहालले भन्नुभएको छ, “जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।”
अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ ।
शोक वक्तव्य
हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमरेड कमान सिंह लामाको कोरोना भाइरसको संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान असामयिक निधन भएको खबरले मलाई दुखित् तुल्याएको छ ।
कमरेड लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको ने.क.पा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो । २०६३ सालमा पुनरस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत हुनुभएको थियो ।
नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कमरेड लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा हुनुहुन्थ्यो ।
जुझारु बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महशुस गरेको छु । कमरेड लामाका दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु हुनुहुन्छ ।
दिवंगत कमरेड लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
२५ मंसिर, २०७७
………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष











