सडक खुलेलगत्तै जलबीरेमा दुई बस ठोक्किए
वि.सं.२०८३ साउन ३ आइतवार ०९:०७
shares

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने घाइतेको यकिन विवरण आउन बाँकी रहेको छ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनाग्रस्त बसहरूलाई सडकबाट हटाउने कार्य तीव्र रूपमा भइरहेको छ। बस हटाएलगत्तै यातायात सञ्चालनलाई पूर्ण रूपमा सुचारु गराउने प्रयास भइरहेको जनाइएको छ।
यसअघि पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी सञ्चालन अस्थायी रूपमा बन्द गरेको थियो। आइतबार बिहान ६ बजे सडक खुला गरिए पनि सडक खुलेलगत्तै लेन अनुशासन पालना नगर्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनापछि सडकमा सवारीसाधनको लामो जाम लागेको छ, जसका कारण यात्रुहरूले सास्ती खेपिरहेका छन्।
सडक डिभिजन कार्यालयले मनसुनका कारण सडक चिप्लो हुनुका साथै पहिरोको जोखिम अझै कायम रहेकाले चालकहरूलाई सीमित गतिमा सवारी चलाउन, लेन अनुशासन कडाइका साथ पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।




















