काखबाट मैदानसम्म : मेसी र यमालबीच विश्वकप फाइनलको ऐतिहासिक भेट
वि.सं.२०८३ साउन २ शनिवार २१:११
shares

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले एक समय आफ्नो काखमा बोकेका स्पेनका युवा स्टार लामिन यमालसँग विश्वकप फाइनल खेल्नु जीवनकै सबैभन्दा अनौठो संयोग भएको बताएका छन्।
अर्जेन्टिना र स्पेनबीच सोमबार बिहान हुने विश्वकप फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा मेसीले सन् २००७ मा खिचिएको एउटा पुरानो तस्बिरको स्मरण गर्दै यमालसँगको अहिलेको प्रतिस्पर्धा अविश्वसनीय लागेको प्रतिक्रिया दिए।
त्यतिबेला बार्सिलोनाको सामाजिक कार्यक्रममा पाँच महिनाका यमाललाई मेसीले बाथटबमा नुहाइदिएको र काखमा बोकेको तस्बिर पछिल्ला दिनमा सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ।
सोही तस्बिरबारे सोधिएको प्रश्नको जवाफमा मेसीले समयले ल्याएको यो संयोगलाई विशेष क्षणका रूपमा व्याख्या गर्दै, अहिले दुवै जना विश्वकपको उपाधिका लागि आमनेसामने उभिनु अविश्वसनीय अनुभव भएको बताए।
मेसीले यमाललाई वर्तमान फुटबलका उत्कृष्ट प्रतिभामध्ये एकको रूपमा प्रशंसा गर्दै उनले बार्सिलोना र स्पेन दुवैका लागि असाधारण योगदान दिइरहेको उल्लेख गरे। यमालको उज्ज्वल भविष्य रहेको भन्दै उनले आगामी वर्षहरूमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
यद्यपि फाइनल खेलमा भने अर्जेन्टिनाले यमाललाई सहज रूपमा खेल्न नदिने रणनीति अपनाउने उनले स्पष्ट पारे। स्पेन केवल एक खेलाडीमा निर्भर नरहेको र समग्र टोली नै बलियो भएकाले कठिन प्रतिस्पर्धाको अपेक्षा गरिएको मेसीको भनाइ छ।
अहिले १९ वर्षका यमालले किशोर अवस्थामै बार्सिलोनाबाट डेब्यु गर्दै क्लबको प्रतिष्ठित नम्बर १० जर्सीको जिम्मेवारी सम्हालिसकेका छन्। उनले स्पेनलाई युरो २०२४ को उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
यदि स्पेनले यसपटक विश्वकप जितेमा यमाल कम उमेरमै युरोकप र विश्वकप दुवै जित्ने इतिहास रच्ने खेलाडी बन्ने सम्भावना रहेको छ।




















