नेपालमै पहिलोपटक ललितपुरमा ‘स्मार्ट जेब्रा क्रसिङ’ सञ्चालन

312
shares

ललितपुर ।  नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले अत्याधुनिक ‘स्मार्ट जेब्रा क्रसिङ’ (अटोमेटिक बुम ब्यारियरसहितको स्मार्ट सेफ्टी ब्यारेड) सञ्चालनमा ल्याएको छ। पैदलयात्रीको सुरक्षा अभिवृद्धि गर्दै ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सुरु गरिएको यो प्रणाली हाल जावलाखेल क्षेत्रमा परीक्षणका रूपमा सञ्चालन गरिएको हो।

महानगरका अनुसार यो स्मार्ट प्रणाली ट्राफिक लाइट र काउन्टडाउन टाइमरसँग समन्वय भएर सञ्चालन हुन्छ। पैदलयात्रीका लागि हरियो बत्ती बल्दा मात्र जेब्रा क्रसिङ खुल्नेछ भने रातो बत्ती लाग्नेबित्तिकै ब्यारियर स्वतः बन्द हुनेछ। यसबाट रातो बत्तीमा सडक काट्ने प्रवृत्ति नियन्त्रण हुनुका साथै दुर्घटनाको जोखिम पनि उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।

महानगर प्रमुख चिरिबाबु महर्जनले ट्राफिक नियमको बेवास्ता र जेब्रा क्रसिङको कम प्रयोगका कारण पैदलयात्री दुर्घटनाका घटना बढ्दै गएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित, व्यवस्थित र अनुशासित सडक संस्कृतिको विकास गर्ने लक्ष्य रहेको बताए।

ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार प्रणालीमा जडान गरिएको सेन्सरका कारण कुनै व्यक्ति सडक पार गरिरहेको अवस्थामा ब्यारियर बन्द हुँदैन। यसले पैदलयात्री बीच सडकमा अलपत्र पर्ने वा दुर्घटनामा पर्ने जोखिमलाई न्यून गर्ने विश्वास गरिएको छ।

महानगरले जेब्रा क्रसिङ बाहेक अन्य स्थानबाट सडक पार गर्ने प्रवृत्ति रोक्न सडकका दुवै किनारमा गमला राख्ने तयारीसमेत गरेको जनाएको छ। यसबाट पैदलयात्रीलाई जेब्रा क्रसिङ प्रयोग गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा जडान गरिएको स्मार्ट जेब्रा क्रसिङ सफल भए ललितपुर महानगरभित्र ट्राफिक लाइट भएका अन्य चोकहरूमा पनि चरणबद्ध रूपमा विस्तार गरिने महानगरले जनाएको छ।


divya collage
unigloble collage