सरकारको निर्णयले जनतालाई क्षति पुर्याए रातारात सच्याउनुपर्छ: सभापति लामिछाने
वि.सं.२०८३ साउन २ शनिवार १७:५६
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका निर्णयले अपेक्षित लाभ दिन नसकी जनतालाई ठूलो क्षति पुगेमा त्यस्ता निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन्।
शुक्रबार रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका निर्णय व्यवहारमा लागू हुँदा समस्या देखिन सक्ने भएकाले आवश्यक परे संशोधन वा परिवर्तन गर्न हिच्किचाउन नहुने बताए।
लामिछानेले सरकारका निर्णयको उद्देश्य जनहित नै हुने भए पनि व्यवहारमा त्यसको परिणाम फरक आउन सक्ने उल्लेख गर्दै उनले भने, “यदि कुनै निर्णयले ठूलो ड्यामेज गर्छ भने त्यसलाई रातारात परिवर्तन गर्न पनि तयार हुनुपर्छ।”
उनले हजारौं निर्णयमध्ये केही निर्णय विवादमा पर्नु स्वाभाविक रहेको उल्लेख गर्दै, किसानको हितका लागि गरिएको निर्णयसमेत कार्यान्वयनका क्रममा उल्टै किसानकै विपक्षमा जान सक्ने अवस्था बन्ने बताए।
उनका अनुसार सुरुवातमा विवादित देखिएका धेरै नीतिगत निर्णय समयसँगै सही सावित भएका उदाहरण पनि प्रशस्तै छन्। नेतृत्वले दूरदृष्टिका साथ लिएका निर्णय कार्यान्वयनका चुनौतीका कारण प्रारम्भमा आलोचित भए पनि पछि प्रभावकारी बन्न सक्ने उनले बताए।
सभापति लामिछानेले वर्तमान सरकारको नियतमाथि आफूलाई कुनै शंका नरहेको स्पष्ट पार्दै, गल्ती निर्णय सच्याउन सकिने तर खराब नियत सच्याउन कठिन हुने धारणा व्यक्त गरे।
साथै उनले नेता–कार्यकर्तालाई सरकारका कामप्रति निगरानी राख्न आग्रह गर्दै, मन्त्रालयबाट समस्या समाधान नभए पार्टीले अभिभावकको भूमिका निर्वाह गर्ने र जनताको गुनासो सम्बोधन गर्न पछि नहट्ने प्रतिबद्धता जनाए।




















