आज बागमती सरकारबाट एमाले बाहिरिने, सबै ६ मन्त्रीले राजीनामा दिदैँ
वि.सं.२०८३ साउन २ शनिवार १७:३४
shares

नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारमा सहभागी आफ्ना सबै मन्त्रीलाई आज सामूहिक रूपमा राजीनामा दिन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार मन्त्रीहरूले पदबाट अलग हुने तयारी गरेका हुन्।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले पार्टी नेतृत्वबाट सरकार छाड्ने स्पष्ट निर्देशन प्राप्त भएकाले त्यसअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिए। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि सरकारमा रहेका सबै मन्त्रीले आजै राजीनामा बुझाउने पुष्टि गरेका छन्।
एमालेले मुख्यमन्त्री इन्द्र बानियाँले सत्ता साझेदार दलसँग कुनै परामर्श नगरी आफ्ना मन्त्रीहरूलाई विनाविभागीय बनाएको निर्णयलाई असन्तुष्टिको मुख्य कारण बनाएको छ। यस्तो अवस्थाले सरकारमा निरन्तर रहन उपयुक्त वातावरण नरहेको निष्कर्ष पार्टीले निकालेको नेताहरूको भनाइ छ।
बागमती सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ सहभागी छन्।
एमालेका सबै मन्त्रीले राजीनामा दिएपछि बागमती प्रदेशको सत्ता समीकरणमा महत्वपूर्ण परिवर्तन आउने भएको छ। यससँगै मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको सरकार प्रदेश सभामा अल्पमतमा परेको छ भने आगामी राजनीतिक समीकरण र सरकारको भविष्यबारे चासो बढेको छ।




















