भदौ ८ गते विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री थापा
वि.सं.२०८३ भदौ ६ शनिवार २१:०५
shares

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आगामी भदौ ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बनेका थापाले सोमबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र पठाएका हुन् ।
यसअघि भदौ ७ गते नै विश्वासको मत लिने तयारी भए पनि मुख्यमन्त्रीको संशोधित पत्रपछि प्रदेशसभा सचिवालयले भदौ ८ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको छ । उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरिएको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री थापाका अनुसार भदौ ७ गते गृह जिल्ला जाने कार्यक्रम रहेकाले अन्य दलसँगको सुझावका आधारमा विश्वासको मत लिने मिति एक दिन सारिएको हो । उनका अनुसार आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकबाट आवश्यक प्रक्रिया टुंग्याइनेछ भने सोमबार प्रदेशसभामा मत विभाजनमार्फत विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइनेछ ।
भदौ ३ गते मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थापा भदौ ४ गते प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसको भोलिपल्ट उनले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि आवश्यक बहुमत कायम गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक हुन्छ । विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी मुख्यमन्त्री थापाको छ ।
यसैबीच, थापालाई सरकार गठनका लागि समर्थन गरेको विषयलाई लिएर राप्रपाभित्र विवाद देखिएको छ । राप्रपाको संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीलाई समर्थन गरेपछि पार्टीभित्र त्यसबारे असन्तुष्टि बढेको हो ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले उद्धव थापालाई संसदीय दलको नेता तथा पार्टीको साधारण सदस्यबाट समेत हटाउन सिफारिस गर्ने निर्णय गरिसकेको छ ।


















