बालेन नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी
वि.सं.२०८३ भदौ ६ शनिवार २०:५३
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार लामो समय टिक्न नसक्ने दाबी गरेका छन् ।
शनिबार भक्तपुरको नगरकोटमा आयोजित एमालेको जनसङ्गठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारको गठन प्रक्रियामाथि प्रश्न उठाउँदै पाँच वर्षको कार्यकाल पूरा गर्ने अवस्था नरहेको बताएका हुन् ।
ओलीले बहुमत प्राप्त गरेको आधारमा मात्रै सरकारले पाँच वर्ष शासन गर्न पाउने सुनिश्चित नहुने जिकिर गरे । उनले सरकारविरुद्ध उत्पन्न हुन सक्ने राजनीतिक परिस्थितिका लागि एमालेका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिए ।
सरकार कुन शक्तिको समर्थन वा आडमा अघि बढिरहेको छ भन्ने विषयले एमालेलाई फरक नपार्ने बताउँदै ओलीले पार्टी कुनै पनि दबाब र शक्तिसँग नडराउने दाबी गरे । उनले गणतन्त्र स्थापनाका लागि एमालेले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेता–कार्यकर्तालाई भयमुक्त भएर राजनीतिक गतिविधिमा सक्रिय हुन आग्रह गरे ।
वर्तमान परिस्थितिले नागरिकमा त्रास सिर्जना गरेको आरोप लगाउँदै ओलीले सरकारको आलोचना गर्नेहरू सामाजिक सञ्जालमा गालीगलौज र आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको बताए । उनले लोकतन्त्र र संविधानमाथि हस्तक्षेप भएको दाबी गर्दै त्यसको पुनःस्थापनाका लागि एमालेले भूमिका खेल्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिएर सरकार गठनमा सहयोग गरेकोमा जनतामा असन्तुष्टि बढ्दै गएको ओलीको दाबी थियो । सरकारप्रतिको असन्तुष्टि थप बढे नागरिक आफैं आन्दोलनमा उत्रिन सक्ने उनको भनाइ थियो ।
त्यस्तो अवस्था आए राजनीतिक रूपमा सामना गर्न एमाले तयार रहनुपर्ने भन्दै ओलीले नेता तथा कार्यकर्तालाई जनजीविका, नागरिकका समस्या र जनताको पक्षमा स्पष्ट रूपमा आवाज उठाउन निर्देशन दिए ।
एमाले बागमती प्रदेश जनसम्पर्क समन्वय संयन्त्रको आयोजनामा सुरु भएको कार्यशाला दुई दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पार्टीका विभिन्न जनसङ्गठनका संयन्त्रमा आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

















