प्रदीप गिरि आलोचना र समर्थनको अतिवादभन्दा माथि थिए: गगन थापा
वि.सं.२०८३ भदौ ६ शनिवार २१:१४
shares

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिवंगत नेता एवं राजनीतिक चिन्तक प्रदीप गिरिलाई आलोचना र समर्थनको अतिवादभन्दा माथि रहेर स्वतन्त्र विचार राख्ने नेताका रूपमा स्मरण गरेका छन् ।
गिरिको चौथो स्मृति दिवसका अवसरमा शनिबार सानेपामा आयोजित कार्यक्रममा थापाले कांग्रेसभित्र अहिले आलोचना र निन्दाबीचको अन्तर छुट्याउन नसक्ने तथा प्रश्नविनै समर्थन गर्ने प्रवृत्ति देखिएको बताए । उनले यी दुवै प्रवृत्तिबाट गिरि अलग रहेको उल्लेख गर्दै उनको वैचारिक स्वतन्त्रता नै सबैभन्दा महत्वपूर्ण विशेषता भएको बताए ।
पार्टीका बैठकमा गिरिसँगै काम गर्दाको अनुभव सुनाउँदै थापाले अन्य नेताहरूले कस्तो धारणा राख्लान् भन्ने अनुमान गर्न सकिए पनि गिरिको हकमा भने त्यस्तो अनुमान गर्न नसकिने स्मरण गरे ।
‘प्रदीप गिरि बोल्न उठ्दा उहाँले के धारणा राख्नुहुन्छ भन्ने अनुमान नै गर्न सकिँदैनथ्यो,’ थापाले भने ।
गिरि आफूले विश्वास गरेको विचार र सिद्धान्तमा दृढ रहने नेता भएको पनि थापाले बताए । उनका अनुसार गिरिको यही स्वतन्त्र र मौलिक सोचले उनलाई नेपाली राजनीतिक वृत्तमा विशिष्ट बनाएको थियो ।
सभापति थापाले गिरिको राजनीतिक योगदानलाई केवल समर्थन वा आलोचनाको सीमित दृष्टिकोणबाट नभई उनको वैचारिक योगदान र स्वतन्त्र चिन्तनका आधारमा बुझ्नुपर्ने धारणा राखे ।

















