रसुवाको भोटेकोशी बाढीमा ५० भन्दा बढीको मृत्यु, २५० जनाको उद्धार

585
shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको सरकारले जनाएको छ। बाढीमा परी कैयौँ नागरिक बेपत्ता भएका छन् भने ठूलो संख्यामा मानिस घाइते तथा विस्थापित भएका छन्।

बाढीपछि सरकारले खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्।

सरकारका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेमध्ये आवश्यक उपचारका लागि केहीलाई काठमाडौं ल्याइएको छ।

घाइतेको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको सरकारले जनाएको छ। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आकस्मिक उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीसहितका मेडिकल टोली परिचालन गरी उद्धार र प्राथमिक उपचार भइरहेको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायले पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री पठाएका छन्।

सरकारका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाका शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित छन्।

प्रभावित परिवारका लागि तत्काल खाद्यान्न, स्वच्छ खानेपानी, औषधि र अस्थायी आवासको व्यवस्था गरिने सरकारले जनाएको छ। बेपत्ता नागरिकको खोजीलाई तीव्र पार्दै घाइते तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। उद्धार तथा खोजी कार्य रातभर जारी रहने बताइएको छ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् र खानेपानीका संरचनाको प्राथमिकताका साथ पुनर्निर्माण गरिने सरकारले जनाएको छ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्दै जनजीवन सामान्य बनाउने योजना रहेको सरकारको भनाइ छ।

सरकारले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई उद्धार र राहत अभियानमा सहयोग गर्न अपिल गरेको छ।


divya collage
unigloble collage