सात सांसद अनुपस्थित भएपछि बागमती प्रदेशसभा बैठक अनिश्चित

260
shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सोमबार विश्वासको मत लिने तयारी गरे पनि सत्तारूढ दलभित्रैको असन्तुष्टि र राप्रपाको आन्तरिक विवादका कारण प्रदेशसभा बैठक अन्योलमा परेको छ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि साँझ ५ बजेसम्मका लागि सारिएको थियो। त्यसपछि राति ८ बजे बैठक बस्ने सूचना आए पनि दलहरूबीच सहमति नजुटेकाले बैठक बस्ने सम्भावना कमजोर रहेको स्रोतको भनाइ छ।

बैठक प्रभावित हुनुको मुख्य कारण सत्तारूढ नेकपाका सात सांसदको अनुपस्थिति पनि बनेको छ। मुख्यमन्त्रीलाई विश्वासको मत दिने भनिएका ती सांसद मन्त्री नबनाइएको भन्दै असन्तुष्ट रहेको बताइएको छ। उनीहरू सोमबारको बैठकमा सहभागी नभई काठमाडौंमै बसेर आगामी रणनीति बनाइरहेको स्रोतले जनाएको छ।

अनुपस्थित हुने सांसदमा युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, गङ्गा नारायण श्रेष्ठ, लक्ष्मण लम्साल र कृष्ण खनालसहित सात जना रहेको बताइएको छ।

यसैबीच, राप्रपाभित्रको विवादले पनि मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया जटिल बनाएको छ। राप्रपा केन्द्रले बागमती सरकारलाई समर्थन नगर्ने निर्णय गरे पनि प्रदेशका केही सांसद सरकारको पक्षमा उभिएका छन्। केन्द्रको निर्णयविपरीत प्रदेश सरकारमा सहभागिता जनाएपछि पार्टीभित्र विवाद चर्किएको हो।

राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई हटाउने निर्णय गर्दै प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ। सभामुखले उक्त पत्र दर्ता गरेपछि संसदीय दलको नेतृत्व र सरकारका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने अधिकार कससँग रहने भन्ने विषयमा समेत विवाद देखिएको छ।

राप्रपाको आन्तरिक विवादसम्बन्धी मुद्दामा उच्च अदालतले भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। कांग्रेसले अदालतको छलफलपछि मात्रै प्रदेशसभा बैठक सञ्चालन गर्नुपर्ने अडान लिएपछि पनि बैठकका विषयमा सहमति बन्न नसकेको बताइएको छ।

मुख्यमन्त्री थापा भने दिनभर सांसदहरूको समर्थन जुटाउने प्रयासमा सक्रिय थिए। एमाले नेतृत्वमा रहेको सरकारलाई नेकपा र राप्रपाको समर्थन रहेको दाबी गरिए पनि दुवै दलभित्रको असन्तुष्टिले सरकारका लागि विश्वासको मत चुनौतीपूर्ण बनेको छ।

बागमती प्रदेशसभामा सरकार जोगाउन मुख्यमन्त्री थापालाई ५३ सांसदको समर्थन आवश्यक छ। एमाले र नेकपाका सबै सांसदले समर्थन गरे पनि आवश्यक बहुमत नपुग्ने भएकाले राप्रपाका सांसदको भूमिका निर्णायक बनेको हो।

सरकारलाई सुरक्षित बनाउन मुख्यमन्त्री थापाले राप्रपाका तीन सांसदलाई मन्त्रीसमेत बनाएका छन्। तर पार्टीभित्र सरकारलाई समर्थन गर्ने र नगर्ने पक्षबीच विवाद कायमै छ।

सत्तारूढ नेकपाका सात सांसदको अनुपस्थिति र राप्रपाको आन्तरिक विवादका कारण राति ८ बजेका लागि भनिएको बैठक पनि अनिश्चित बनेको छ।


divya collage
unigloble collage