सबल कम्पनीको सेयरमा अब ८० % सम्म कर्जा

राष्ट्र बैंकले मार्जिन लेन्डिङ नियम खुकुलो बनायो

286
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) सम्बन्धी व्यवस्था खुकुलो बनाउँदै वित्तीय रूपमा सबल कम्पनीहरूको सेयर धितोमा अब ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै मौद्रिक नीतिमा गरिएको घोषणालाई कार्यान्वयनमा ल्याएको हो। यसअघि भने पछिल्लो ६ महिनाको औसत बजार मूल्य वा हालको बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म मात्रै कर्जा दिन पाइने व्यवस्था थियो।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनीको वित्तीय अवस्था र विश्वसनीयताको मूल्याङ्कन गरी थप १० प्रतिशत बिन्दुसम्म कर्जा सीमा बढाउन सक्नेछन्। यससँगै सबल कम्पनीहरूको सेयर धितोमा अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन बाटो खुलेको छ।

कर्जा सीमा निर्धारण गर्दा कम्पनीको चुक्ता पुँजी, धितोपत्र बजारमा सूचीकरण भएको अवधि, खुद नाफा, लाभांश वितरणको इतिहास, क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना तथा नियमित वार्षिक साधारणसभा सम्पन्न गरेको अवस्थालगायतका सूचकलाई आधार बनाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यस्तै, सेयर धितो कर्जासम्बन्धी प्रोडक्ट पेपर प्रत्येक बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

तर, राष्ट्र बैंकले एकपटक प्रवाह भइसकेको सेयर धितो कर्जामा धितोको पुनर्मूल्याङ्कन गरी थप कर्जा दिन वा कर्जाको सीमा बढाउन भने रोक लगाएको छ।

राष्ट्र बैंकको यो निर्णयले गुणस्तरीय कम्पनीहरूको सेयरमा लगानी गर्ने लगानीकर्तालाई सहजता मिल्ने तथा पूँजी बजारमा तरलता र लगानी गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage