प्राथमिक पुँजीको शतप्रतिशत विदेशबाट ऋण लिन सकिने व्यवस्था लागू
वि.सं.२०७५ फागुन १६ बिहीवार १४:०२
shares

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पुँजीको शतप्रतिशत ऋण लिन पाउने व्यवस्था लागू भएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार उक्त व्यवस्था लागू गर्न क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षामा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनी हरुले विदेशबाट आफ्नो प्राथमिक पूँजीको शतप्रतिशत सम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गर्ने उल्लेख गरेको थियो।
यस अघि प्राथमिक पुँजीको ५० प्रतिशत सम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था थियो। मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा अघि वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले विदेशबाट आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत सम्म ल्याउन सक्ने व्यवस्था थियो।
प्रथम त्रैमासमा ५० प्रतिशत बनाएको राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत शत-प्रतिशत बनाएको हो। यसले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको समस्यालाई केहि हद सम्म सम्वोधन गर्ने राष्ट्र बैंकको दावी छ।










