दलित र विपन्न बालबालिकालाई आवासीय विद्यालय सञ्चालन

5.45K
shares

खलङ्गा । जुम्लाको हिमा गाउँपालिकाले शहीद, दलित र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दे आवासीय विद्यालय सञ्चालन गरेको छ ।

सशस्त्र द्वन्द्वका क्रममा दुवै पक्षबाट मारिएका शहीद र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दे आवासीय विद्यालय स्थापना गरेको हो । स्थानीय सरकार गठन भए लगतै विसं २०७५ मा गाउँपालिकाको पहलमा आवासीय विद्यालय स्थापना गरिएको हो । अहिले उक्त विद्यालयमा ५२ बालबालिका अध्ययनरत छन् ।

छिमेकी जिल्ला कालिकोटका चार स्थानीय तहका आठ र जुम्लाका तीन स्थानीय तहका ४४ विपन्न र शहीद परिवारका छोराछोरी आवासीय विद्यालयमा पढीरहेका छन् । कालिकोटको तिलागुफा र खाँडाचक्र नगरपालिका तथा पलाँता र महावु गाउँपालिकाका आठ र जुम्लाका तिला, हिमा र सिञ्जा गाउँपालिकाका ४४ विद्यार्थी आवासीय विद्यालयमा पढीरहेका छन् ।

शहीद परिवार, अनाथ, विपन्न र अर्काको भरमा पालिएका बालबालिकाको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि आवासीय विद्यालय स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए ।

घरपरिवारबाट राम्रो शिक्षा पाउन नसक्ने बालबालिकालाई लक्षित गरी विद्यालय स्थापना गरिएको उहाँको भनाइ छ । आवासीय विद्यालयमा अध्ययन गर्न आएका सबै बालबालिकालाई खान, बस्न, स्कुल पोशाकलगायत औषधि उपचारको सबै जिम्मेवारी गाउँपालिकाले लिएको अध्यक्ष शाहीले जानकारी दिए ।

आवासीय विद्यालयमा कक्षा २ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइहुने गरेको र उच्च शिक्षासम्मको जिम्मेवारी स्थानीय सरकारले लिने बताउनुभयो । द्वन्द्वका क्रममा अभिभावक गुमाएकासहित तथा विपन्न परिवारका सदस्यलाई आफ्ना सन्ततिलाई शिक्षा दिन गाह्रो हुने भएकाले स्थानीय सरकारले बालबालिकाको जिम्मा लिएको शाहीको भनाइ छ ।

“देशको शासन व्यवस्थापन परिवर्तन गर्न बन्दुक उठाएर धेरै व्यक्ति शहीद भए”, शाहीले भन्नुभयो, “ति सहितका बालबालिकाले शिक्षा पाउने अधिकार स्थानीय सरकारले सुनिश्चित गर्नुपर्छ ।” आवासीय विद्यालयले प्रत्येक वर्ष २० देखि २२ नयाँ बालबालिका भर्ना लिने गरेको छ । पहिलो वर्ष २४ बालबालिकालाई भर्ना लिएर पठनपाठन शुरुआत गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । स्थापनाको वर्षमा रु १० लाख, गत आवमा रु २० लाख र चालू आवमा रु २० लाख रकम विद्यालयका लागि विनियोजन गरिएको अध्यक्ष शाहीले बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083