‘ठग्स अफ हिन्दोस्तान’को असफलताले डराए आमिर, बदलियो रणनीति
वि.सं.२०७५ मंसिर ७ शुक्रवार १७:४२
shares

मुम्बइ। ठग्स अफ हिन्दोस्तानको असफलताले आमिर खानको करिअरमा कुनै असर पार्ला रु धेरैले खासै असर नपर्ने विश्लेषण गरेका छन् । तर, आमिर खान आफैं भने यो असफलताबाट तर्सिएका छन् । आमिरनिकट स्रोतका अनुसार उनी यो असफलतापछि रणनीति बदल्ने सुरमा छन् । यसका लागि उनले आफ्नो टिमलाई निर्देशन पनि दिइसकेका छन् ।
पछिल्लो १ दशक आमिर बलिउडमा निकै सफल रहे । उनले एउटा फिल्म बनाउनकै लागि २ वर्षसम्मको समय लिए । एकातिर अक्षय कुमार जस्ता स्टारले वर्षमा ४ वटा फिल्म बनाइरहँदा अर्कोतर्फ आमिरले भने एउटै फिल्म बनाउन २ वर्षसम्म समय लगाए । उनले २०१४ को डिसेम्बरमा पिके रिलिज भएपछि अर्को फिल्म दंगल दिन २०१६ को डिसेम्बर कुरे ।
अहिले ठग्सको असफलताले भने आमिरलाई निकै असर पारेको छ । आमिर चाहन्छन् कि दर्शकले उनको यो असफलतालाई छिटोभन्दा छिटो बिर्सिउन् । यसको लागि आमिरले तत्कालै अर्को व्यवसायिक रुपमा सफल फिल्म दिने योजना बनाएका छन् । फिल्म भलै कम बजेटको होस् र गहिरो विषयवस्तु नहोस् तर फिल्म सफल हुनुपर्ने आमिरको ठम्याइ छ ।
अहिले आमिरको हातमा दुई ठूला प्रोजेक्ट छन् । आमिरले महाभारतमा आधारित फिल्म बनाउँदैछन् जसमा उनी आफैंले कृष्णको रोल गर्ने बताइएको छ । अर्कोतर्फ उनी ओशो रजनीशको बायोपिकमा पनि काम गर्नेछन् । तर, यी दुवै ठूलो बजेटका फिल्म हुन् । यी दुवै फिल्मको विषयवस्तुमा सानोतिनो कुरामा पनि विवाद हुन सक्ने खतरा भएकोले आमिरले यी फिल्मलाई छिटो बनाउने खतरा उठाउने छैनन् ।
बरु उनले दर्शकलाई अर्कै सफल फिल्म दिएर ठग्सको असफलता बिर्साउने प्रयास गर्नेछन् । छोटो समयमा बन्ने भएकोले यो फिल्म मसला फिल्म हुन सक्छ जसले कुनै गहन विषय नउठाए पनि सतही मनोरञ्जन दिन सकोस् । तर, मसला फिल्म खेलेर आमिरले आफ्नो अहिलेको छवि बचाउन सक्लान् त ? यो उनको लागि अर्को चुनौती हुनेछ ।


























