नेपाली कलाकारलाई अमेरिका प्रवेशाज्ञामा ‘प्रतिबन्ध’ !
वि.सं.२०७५ पुस २० शुक्रवार १३:४२
shares

काठमाडौं । अमेरिका भासिनका लागि नेपाली कलाकारले नक्कली प्रमाणपत्रसहित ग्रिनकार्ड भिसा माग्ने गरेको खुलेको छ । नेपालमा हुने विभिन्न प्रकारका अवार्डका प्रमाणपत्र ‘ग्रिनकार्ड भिसा’ आवेदनका क्रममा पेस हुने गरेको छ । नेपालस्थित अमेरिकी दूतावासलाई यसको शंका लागेपछि उसले चलचित्र विकास बोर्डसँग अवार्ड बारेको आधिकारीकताका विषयमा जानकारी माग गरेको थियो ।
बर्षेनी विभिन्न कम्पनीका नाममा अवार्ड हुने गरेको छ । त्यसमा नोमिनेशनमा मात्र परेका नजितेकाले पनि जित हात पारेको भन्दै नक्कली प्रमाणपत्र पेस गर्नेगरेको दूतवासको जिज्ञासाबाट थाहा पाएको चलचित्र विकास बोर्ड स्रोतले जनाएको छ । यसरी भिसा माग्नेमा राम्रा गायक, साना तथा ठूला पर्दाका चल्तीका कलाकार पनि छन् । ‘अवार्डको मात्र होइन, निर्माता संघ, निर्देशक समाजलगायत विभिन्न इभेन्ट म्यानेजमेन्टसँगको रकमी सम्झौतामा पनि यसरी प्रमाणपत्रको विक्रि हुने गरेको छ’, स्रोतले भन्यो,‘यसको आधिकारीक जानकारी र प्रतिलिपि तथा अभिलेख केही पनि भेटिँदैन ।
दूतावासको सक्रियतामा नै यस्तो खोजी हुन थालेपछि असली कामका लागि अमेरिका जाने कतिपय कलाकारले पनि भिसा पाउन नसक्ने अवस्था आउनसक्छ । अमेरिकी दूतावासले नक्कली प्रमाणपत्रका आधारमा भिसा दिने प्रक्रियामा कलाकारलाई रोक्न सक्ने खतरा छ । यसको अर्थ, नेपालमा चलेका नयाँ कलाकारलाई अमेरिकाले भिषामा कडाईमात्र गर्दा अमेरिका प्रवेशमा ‘प्रतिबन्ध’ जस्तो हुने देखिन्छ । दूतावास स्रोतले भन्यो,‘कलाकारीताको प्रमाणपत्रका आधारमा सहज हिसाबले भिसा दिन सकिनथ्यो तर फेक डकुमेन्ट ज्यादा हुने शंकापछि अध्ययन थालिएको छ ।

























