अर्पणसँग ब्रेकअपको हल्ला चलिरहँदा अस्पताल भर्ना भइन् ऋचा, ३ बजे डिस्चार्ज
वि.सं.२०७५ माघ ४ शुक्रवार १४:५८
shares

काठमाडौं । छाती दुखेर अभिनेत्री ऋचा शर्मा विहिबार अपराह्नतिर नर्भिक अस्पताल भर्ना भइन्। अस्पताल भर्ना भएसँगै उनलाई हर्ट अट्याक भएको समाचार चर्चामा आयो।
त्यसपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि आफूलाई हर्ट अट्याक नभएको जानकारीसहितको स्टेटस लेखिन् ‘सबैजनालाई धन्यवाद, वास्ता गरिदिनुभयो। मलाई हर्ट अट्याक भएको होइन। सामान्य मुटु दुखाइ हो। सबै रिपोर्ट नर्मल छ।’

उनलाई के भएको थियो ?
‘उहाँ हिजो दिउँसो आउनु भएको थियो। त्यसपछि इमर्जेन्सीमा राखिएको थियो। त्यसपछि प्याथल्याबमा राखियो। त्यहाँ उनको कोरोनोरी इन्जियोग्राम (मुटुको धमनीहरु बन्द भएको छ कि छैन हेर्ने प्रकृया) गरियो। यो टेस्ट डाक्टर जेपी जैसवाल र उहाँको टोलीले गर्नुभएको हो। डाक्टरले उहाँलाई हर्ट अट्याक नभएको प्रमाणित गर्नुभयो’ मिडिया कोर्डिनेटर आर्पी मैनालीले बताए। अहिले उनी प्राइभेट क्याभिनमा छिन्।
मैनालीले ऋचालाई सामान्य एन्जाइना भएको बताए ‘एन्जाइनामा हर्ट अट्याकको लक्षण देखिन्छ तर, हर्ट अट्याक हुँदैन।’ कामको स्ट्रेसले, ग्याँसले, डिप्रेसनले, मान्छे आत्तियो भने छाती दुख्ने उनले जनाए।
ऋचा अहिले आराम गरिरहेकी छिन्। उनले आज ३ बजे अस्पतालबाट डिस्चार्ज हुने बताइन्। उनले भनिन् ‘जस्ट पेन मात्र भएको हो। ३ बजेतिर डिस्चार्ज हुन्छ।’ इन्डस्ट्रीमा अर्पण थापासँग ऋचाको ब्रेकअपको चर्चा चलिरहँदा यो घटना भएको हो। अहिले फिल्मकर्मी ऋचाको स्वास्थ्य लाभको कामना गर्दैछन्।


























