एन्टीबायोटिकको गलत प्रयोग रोक्न सरकार गम्भीर छ : स्वास्थ्य मन्त्री यादव

4.49K
shares

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एन्टीबायोटिकको प्रभावकारिता घट्दै जानु खतरनाक संकेत भएको बताएका छन् । स्वास्थ्य तथा जथा जनसंख्या मन्त्रालयमा आयोजित प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले एन्टीबायोटिकको असर खतरनाक भएकाले यसका विषयमा जनचेतना जागाउनु पर्ने बताए ।

‘नेपालमा एन्टीबायोटिकको गलत प्रयोगलाई न्युनिकरण गर्ने अभियान स्वरूप हामीले कार्यक्रमहरू शुरू गरिसकेका छौं,’ मन्त्री यादवले भने, ‘एन्टीबायोटिकले काम गर्न छाड्दै गएमा हामी भविष्यमा ठूलो समस्यामा पर्छौं । विकसित देशहरूले सजिलै विकल्प खोज्लान्, तर हाम्रो जस्तो विकासोन्मुख देशले समयमै सजकता अपनाउनुपर्छ ।

उनले एन्टीबायोटिकको गलत प्रयोगलाई रोक्न सरकार गम्भीर भएर लाग्ने बताए । नेपालमा भएका अध्ययनहरूले मानिस र पशुपंक्षीमा जीवाणुहरू बलियो भन्दै गएको र एन्टीबायोटिकले काम गर्न छाड्ने अवस्था आइसकेको बताए । तर नेपालमा एन्टीबायोटिकको प्रयोग कति र कसरी भइरहेको छ भन्ने यकिन तथ्यांक भने सरकारसँग नभएको उनले स्वीकार गरे ।

यस्तै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले एन्टीबायोटिकको गलत प्रयोगका कारण नेपालमा एन्टीबायोटिक रेसिस्ट्यान्स बढेको बताए । नेपालमा जथाभावी रूपमा एन्टीबायोटिक बिक्री गर्न नपाइने कानून रहेपनि यसको कार्यान्वयन गर्न नसकिएको स्वास्थ्य राज्यमन्त्री यादवको भनाइ छ । नेपालमा मानिस, कृषि क्षेत्र र जनावरमा पनि एन्टीबायोटिकको प्रयोग हुने गरेको छ । नेपाल सरकारले एन्टीबायोटिकको गलत असर हुन नदिन कुखुरा तथा वस्तुभाउलाई दिइने खाद्यान्न दानामा एन्टीबायोटिक प्रयोग गर्न निषेध गरेको छ ।

साथै एन्टीबायोटिकलाई चिकित्सकको सिफारिस विना प्रयोग गर्न नपाइने व्यवस्था छ तर नेपालमा एन्टीबायोटिकको गलत प्रयोग हुँदै आएको छ । चिकित्सकको सिफारिस विना जथाभावी रूपमा एन्टीबायोटिक बिक्री र प्रयोग भइरहेपनि सरकारले यसलाई नियन्त्रण र नियमन गर्न सकेको छैन । जसका कारण पनि नेपालमा एन्टीबायोटिक रेसिस्ट्यान्स बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।